चिसो मौसममा निमोनिया गराउने ‘भाइरस’ सक्रिय हुने हुँदा यसबाट बच्न विज्ञ चिकित्सकको सुझाव छ। जाडो मौसममा बालबालिकादेखि वृद्धवृद्धासम्म लाई निमोनियाको सङ्क्रमण धेरै हुने जनाउँदै सावधानी अपनाउन सुझाव दिइएको हो। केही वर्ष अघिसम्म राजधानी बाहिर विशिष्टीकृत सेवा अभाव हुँदा बिरामीहरू काठमाडौं केन्द्रित हुने गर्दथे। पछिल्ला दिनहरूमा विशिष्टीकृत सेवा राजधानी बाहिर पनि उपलब्ध हुन थालेपछि निमोनियाका कारण अकालमा ज्यान जाने क्रम घटेको छ।
‘चिसोले निमोनिया बनाउने भन्दा पनि चिसो वातावरणमा निमोनिया हुन सक्छ। इन्फ्लुएन्जा भाइरस चिसोमा सक्रिय हुने भएकाले निमोनिया हुने सम्भावना बढी हुन्छ।’ रुघा, खोकी, ज्वरो आउनेबित्तिकै बोलीचालीको भाषामा निमोनिया लाग्यो भनिने भए पनि त्यो निमोनिया नहुन पनि सक्छ। ‘निमोनियामा साधारणतया एक्सरे गरेर हेर्यो भने फोक्सोमा सेतो दाग देखिन्छ त्यो निमोनिया हो।’
निमोनिया फोक्सोमा हुने एक प्रकारको सङ्क्रमण हो, कोभिडको बेलामा भाइरसले निमोनिया बनाएको हुन्छ। सामान्यतया धेरैजनालाई हुने इन्फ्लुएन्जा भाइरसले गर्दा निमोनिया हुने र अन्य ब्याक्टेरियाले गर्दा पनि निमोनिया हुने हुन्छ। ‘मधुमेह नियन्त्रणमा नभएको वा रोगसँग लड्ने क्षमता कम भएको व्यक्तिहरूलाई यो बाहेक फङ्गस (ढुसी) ले पनि निमोनिया गराउँछ।’ फोक्सोमा सङ्क्रमण भएपछि खोकी लाग्ने, ज्वरो आउने र छाती दुख्ने गर्दछ।
साधारण भाषामा निमोनिया भनेको फोक्सो पाक्ने समस्या हो, ‘फोक्सोको एक भाग अथवा पूरै भाग पाक्ने हो। त्यसको वरिपरि पानी जम्ने र त्यो इन्फेक्टेड भयो भने पीप जस्तो हुन्छ।’ निमोनियाको दुई प्रकृति रहेको छ। ब्याक्टेरियल निमोनिया अर्थात् भाइरस निमोनियाको समयमै उपचार भयो भने खासै खतहरू बस्दैन। तर कुनैकुनै निमोनिया जस्तैः कोभिड निमोनिया निको भएपनि फोक्सोमा खतहरू देखिएको हुन सक्छ।समयमा उपचार भयो र अन्य जटिलताहरू जस्तो पीप बनेन भने साधारणतया निमोनिया निको हुने रोग अन्तर्गत पर्छ। , ‘रोगसँग लड्ने क्षमता, समयमै सही एन्टिबायोटिकको प्रयोग र बिरामीको केयर कस्तो छ भन्ने अवस्थाले निमोनिया निको हुने वा नहुने भन्ने कुरामा भर पर्दछ।’
साधारणतया निमोनिया हुने कारणमा भाइरस र ब्याक्टेरिया नै मुख्य कारण हुन्। धेरैजसो बिरामीलाई इन्फ्लुएन्जा, कोभिड र श्वासप्रश्वासमा असर गर्ने भाइरस नै हो। त्यस्तै ब्याक्टेरियाका कारणले हुने निमोनियामा सामान्यतया स्ट्रेप्टोकोकस निमोनिया हो। यो धेरैजसो भीडभाडमा जाँदा हुने निमोनियामा पर्दछ। निमोनियाबाट बच्नको लागि भिडभाडमा जाँदा मास्कको प्रयोग गर्ने, रुघा लागिरहेको व्यक्तिको अगाडि नजान, खोक्दा, हाच्छ्यु गर्दा सर्ने भएकाले कोभिडको बेलामा प्रयोग गरेका मापदण्डहरु प्रयोग गर्नु उचित रहन्छ। अहिले निमोनियाको भ्याक्सिन समेत उपलब्ध रहेको छ।समयमै उपचार गरेमा प्रायःजसो निमोनिया निको हुन्छ। रोगसँग लड्ने क्षमता कम भएको अवस्थामा सबैजना निको हुँदैनन्।