कति सुरक्षित छन् महँगो सेयरमूल्य भएका कम्पनी ?

Bythetruekhabar

३० मंसिर २०८१, आईतवार ०४:१३ ३० मंसिर २०८१, आईतवार ०४:१३ ३० मंसिर २०८१, आईतवार ०४:१३ #How safe are companies with high share prices?

काठमाडौँ । मङ्सिर १० गते प्रतिकित्ता ४१७६ रुपैयाँ रहेको विशाल बजार कम्पनीको सेयरमूल्य मङ्सिर १८ गते ७०१५ रुपैयाँ पुग्यो । लगातार ६ वटा कारोबार दिनमा सकारात्मक सर्किट लागेसँगै एक साताको अवधिमा मात्रै उक्त कम्पनीका सेयरधनीको सम्पत्ति झन्डै ६८ प्रतिशत वृद्धि भयो । लगातार मूल्य बढ्दै गएपछि बजारमा देखिएको चासो र धितोपत्र बोर्डको ध्यानाकर्षणपछि उक्त कम्पनीको मूल्यमा करिब १० प्रतिशत करेक्सन भएको छ, तर अझै पनि यो कम्पनीको सेयरमूल्य ६४४० रुपैयाँ छ ।

विशाल बजार कम्पनी आफैँमा वित्तीय अनुपालन (कम्प्लायन्स) को दृष्टिकोणले कमजोर कम्पनीमध्ये एक हो । यसले वर्षौँदेखि साधारणसभा गरेको छैन । सूचीकृत कम्पनीले तीन/तीन महिनामा त्रैमासिक विवरण सार्वजनिक गर्नुपर्नेमा तीन वर्षदेखि यस्तो सूचना पनि सार्वजनिक गरेको छैन । तर, बजारमूल्य भने एक्कासि बढ्दै गएको छ । मूल्य बढेसँगै विशाल बजार कम्पनी बजार पुँजीकरणका आधारमा सबैभन्दा ठुलो सूचीकृत कम्पनी समेत बनेको छ ।

नेपाल राष्ट्र बैंकले यही मङ्सिर ११ गते कर्णाली डेभलपमेन्ट बैंकमाथि कारबाही गर्‍यो । राष्ट्र बैंकको शीघ्र सुधारात्मक कारबाहीसम्बन्धी नियमावली अनुसार तेस्रो तहको कारबाहीमा परेको कर्णाली बैंकमाथि यसपछि नयाँ निक्षेप स्वीकार गर्न र कर्जा विस्तार गर्न रोक लाग्यो । तर, त्यसको भोलिपल्ट सो बैंकको सेयरमूल्यमा सकारात्मक सर्किट लाग्यो । यो बैंकको सेयरमूल्यबारे समेत धितोपत्र बोर्डले ध्यानाकर्षण गरेको थियो । तर, मूल्य बढेकै आधारमा बोर्डले कारबाही गर्न सक्ने अवस्था थिएन, अहिले पनि ८०० रुपैयाँ भन्दा माथि छ ।

केही समय अघि नेपाल फाइनान्सको अवस्था त्यस्तै थियो । २ रुपैयाँ प्रतिसेयर आम्दानी र १०० रुपैयाँ भन्दा कम सेयरमूल्य भएको उक्त फाइनान्सको सेयरमूल्य कुनै बेला २४०० रुपैयाँसम्म पुर्‍याइएको थियो । अहिले घट्दै यसको मूल्य १०८७ हाराहारीमा झरेको छ । माथिल्लो विन्दुमा सेयर किनेका व्यक्तिले अहिले ५० प्रतिशत भन्दा धेरै मूल्य गुमाइसकेका छन् ।

बजारमा रहेका कमजोर कम्पनीको सेयरमूल्यमा भएको अस्वाभाविक उतारचढावको उदाहरण हुन् यी । बजारका यस्ता केही कम्पनी छन् जसको मूल्य आधारभूत अवस्था कमजोर छ तर विश्लेषकलाई नै माथ खुवाउने गरी सेयरमूल्य कहिले बढ्छ, कहिले घट्छ । सामाजिक सञ्जालमा गरिएको प्रचारको हुरीमा लाग्दा लगानीकर्ताहरू फस्दै गएको अवस्था छ ।

बिहीबारको अन्तिम मूल्यलाई हेर्दा दोस्रो बजारमा ५६ कम्पनीको सेयरमूल्य एक हजार रुपैयाँ भन्दा माथि छ । त्यसमध्ये २९ वटा कम्पनीहरू लघुवित्त समूहका छन् । बाँकी २७ वटा कम्पनी अन्य समूहका छन् । यहाँ हामीले २ हजारभन्दा धेरै मूल्य भएका लघुवित्त संस्था ११ लघुवित्त र एक हजार माथि मूल्य भएका लघुवित्त बाहेकका २८ वटा अन्य सेयरको अवस्था मूल्याङ्कन गरेका छौँ ।

  • मूल्य आम्दानी अनुपातको आधारमा मूल्याङ्कन

सेयर बजारको आधारभूत पक्षमा सबैभन्दा धेरै महत्त्वपूर्ण मानिने सूचक हो मूल्य आम्दानी अनुपात । संस्थाको वित्तीय कार्यसम्पादनको सबैभन्दा मुख्य सूचक मानिने नाफा र बजारमूल्यको अनुपात भएका कारण यसले विशेष महत्त्व राख्छ । समीक्षा गरिएका ३९ वटा सूचीकृत कम्पनीको आधारभूत अवस्था हेर्दा युनिलिभर नेपालको मूल्य आम्दानी अनुपात सबैभन्दा कम २२.११ गुणा रहेको छ, यसको अर्थ युनिलिभरको एक रुपैयाँ कमाइका लागि लगानीकर्ताले २२ रुपैयाँ भन्दा बढी लगानी गरिरहेको छ भन्ने हो । यसले कुनै व्यक्तिले १०० रुपैयाँ लगानी गर्छ भने त्यसबापत वार्षिक ४.५२ रुपैयाँ कमाइ हुन्छ भन्ने बुझाउँछ ।

समीक्षा गरिएका कम्पनीहरूमध्ये समाज लघुवित्त र विन नेपाल लघुवित्त र नेपाल वायर हाउजिङ कम्पनीको मूल्य आम्दानी अनुपात नकारात्मक छ, यसले लगानीको नकारात्मक प्रतिफल आइरहेको बुझाउँछ । सकारात्मक मूल्य आम्दानी अनुपात भएकामध्ये सबैभन्दा धेरै नारायणी डेभलपमेन्ट बैंकको १६१३ गुणा छ, यसको अर्थ यसमा लगानी गर्नेको वार्षिक कमाइ ०.०६ प्रतिशत हुन आउँछ । त्यस्तै, आत्मनिर्भर लघुवित्त ०.११ प्रतिशत, कर्पोरेट डेभलपमेन्ट बैंक ०.२०, नेपाल फाइनान्स ०.२३, हाथवे इन्भेस्टमेन्ट र इमर्जिङ नेपाल ०.२२, सप्तकोशी डेभलपमेन्ट बैंक ०.२५ र मुक्तिनाथ कृषि कम्पनीको लगानीमा ०.२६ प्रतिशत कमाइ हुने अवस्था देखिन्छ ।

३९ वटा कम्पनीमध्ये २३ वटा कम्पनीको आम्दानी र लगानीको अनुपात एक प्रतिशतभन्दा कम छ । अर्थात्, यी कम्पनीको मूल्य आम्दानी अनुपात १०० भन्दा धेरै छ । त्यस्तै, ८ वटा कम्पनीको यस्तो अनुपात एकदेखि दुई प्रतिशतसम्म छ, यसले मूल्य आम्दानी अनुपात ५० गुणाभन्दा धेरै भएको बुझाउँछ । बाँकीमध्ये बोटलर्स नेपाल तराईको २.०७ प्रतिशत, तारागाउँ रिजेन्सीको २.४१ प्रतिशत, विशाल बजार कम्पनीको ३.८८ प्रतिशत, युनिलिभर नेपालको ४.५२ प्रतिशत देखिन्छ । पीई अनुपातको हिसाबले यो क्रमशः ४८, ४१, ३४ गुणा हो । यसमध्ये विशालबजार कम्पनीको पीई अनुपात २०७७/७८ सालको आम्दानीलाई आधार मानेर लिइएको हो ।

  • नेटवर्थका आधारमा मूल्यको मूल्याङ्कन

आधारभूत विश्लेषणका लागि विचार गरिने अर्को महत्त्वपूर्ण सूचक नेटवर्थ हो । कम्पनीको सम्पूर्ण सम्पत्तिमा सम्पूर्ण दायित्व घटाउँदा बाँकी रहेको सम्पत्तिलाई नेटवर्थ भनिन्छ । यसलाई सेयर सङ्ख्याले भाग गर्दा प्रतिसेयर नेटवर्थ आउँछ । प्रतिसेयर नेटवर्थ धेरै हुनु भनेको कम्पनीको सम्पत्ति धेरै हुनु हो । कमाइ नभए पनि सम्पत्तिकै लागि समेत बजारमा धेरै मूल्य तिर्ने प्रचलन छ ।

असार मसान्तको वित्तीय विवरण अनुसार नारायणी डेभलपमेन्ट बैंकको प्रतिसेयर नेटवर्थ सबैभन्दा कम २९ रुपैयाँ छ भने युनिलिभर नेपालको सबैभन्दा धेरै ५२८५ रुपैयाँ छ । समीक्षा गरिएको ३६ कम्पनीमध्ये पाँच कम्पनीको नेटवर्थ एक सय रुपैयाँभन्दा कम, १८ कम्पनीको एक सयदेखि दुई सय रुपैयाँसम्म, पाँच कम्पनीको दुईसयदेखि तीनसय रुपैयाँसम्म, तीनवटा कम्पनीको तीनसयदेखि चारसय रुपैयाँसम्म हुँदा राष्ट्रिय बीमा कम्पनी, विशाल बजार कम्पनी, बोटलर्स नेपाल, बोटलर्स नेपाल तराई र युनिलिभर नेपालको नेटवर्थ भने एक हजारभन्दा माथि रहेको छ । सबैभन्दा धेरै नेटवर्थ युनिलिभरको ५२८५ रुपैयाँ रहेको कम्पनीको रिपोर्टमा उल्लेख छ ।

यो हिसाबले हेर्दा अहिले लगानीकर्ताले तिरिरहेको मूल्य प्रतिसेयर नेटवर्थको तुलनामा ३.८२ देखि ४५.९० गुणासम्म रहेको छ । नेटवर्थको तुलनामा मूल्य कति गुणासम्म हुनुपर्छ भन्ने निश्चित नभए पनि पाँच गुणासम्मको अवस्थालाई सुरक्षित मानिन्छ । तर, एक हजार भन्दा धेरै मूल्य भएका कम्पनीमध्ये बोटलर्स नेपाल र बोटलर्स नेपाल तराई तथा विशाल बजार कम्पनीको मूल्य मात्रै नेटवर्थको ५ गुणाको सीमाभित्र छ । त्यसमध्ये पनि विशाल बजार कम्पनीको पछिल्लो नेटवर्थ कति हो भन्ने निश्चित छैन ।

प्रतिसेयर नेटवर्थको हिसाबले हेर्ने हो भने बजारकै सबैभन्दा सस्तो मूल्य भएका कम्पनीको अवस्था पनि त्योभन्दा राम्रो छ । अहिले बजारकै सस्तो मूल्य भएको कम्पनी हिमाल दोलखा हाइड्रोपावर हो । ७७.५९ रुपैयाँ नेटवर्थ रहेको उक्त कम्पनीको मूल्य २०७ रुपैयाँ छ जुन २.६६ गुणा मात्रै हुन आउँछ । यसरी दुवै हिसाबले हेर्दा एक हजार भन्दा माथि मूल्य भएका एकाध कम्पनी बाहेक सुरक्षित देखिँदैन ।

  • उच्च मूल्यको कारण — थोरै सेयर

आधारभूत पक्षबाट हेर्दा कमजोर भए पनि तिनै कम्पनीको मूल्य किन उच्च छ त ? यसको एउटै कारण हो, सेयरको सङ्ख्या । बजारमा कारोबारयोग्य सेयरको सङ्ख्या कम हुँदा धेरैजसो कम्पनीको मूल्य उच्च रहेको देखिएको छ ।

अहिले बजारकै सबैभन्दा बढी मूल्य भएको युनिलिभर नेपालको जम्मा सेयर ९ लाख २१ हजार कित्ता छ । त्यसमध्ये पनि बजारमा कारोबारयोग्य सेयर १ लाख ३८ हजार कित्ता मात्रै हो । त्यस्तै बोटलर्स नेपाल तराईको ३ लाख २ हजार, बोटलर्स नेपाल बालाजुको ४ लाख ८७ हजार, विशाल बजार कम्पनीको ४ लाख १८ हजार कित्ता सेयर मात्रै बजारमा कारोबारयोग्य रहेको छ ।

समीक्षा गरिएका ३९ कम्पनीको कुल कारोबारयोग्य साधारण सेयर १० करोड ६५ लाख कित्ता छ । यसमध्ये पनि एलआईसी नेपाल, तारागाउँ रिजेन्सी होटल, एनआरएन इफास्ट्रक्चर, हिमालयन डिस्टिलरी र नागरिक लगानी कोषलाई छाड्ने हो भने बाँकी ३४ कम्पनीको साधारण सेयर जम्मा ४ करोड १८ लाख कित्ता मात्रै हुन आउँछ । जबकी बैंकिङ क्षेत्रको एउटा कम्पनी ग्लोबल आईएमई बैंकको मात्रै १८ करोड ५८ लाख कित्ता सेयर कारोबारयोग्य साधारण सेयर छ ।

समीक्षा गरिएका कम्पनीमध्ये समाज लघुवित्तको कारोबारयोग्य साधारण सेयर सङ्ख्या एक लाख कित्ताभन्दा पनि कम छ । थप १८ कम्पनीको यस्तो सङ्ख्या १० लाखभन्दा कम छ । १५ कम्पनीको १० देखि ३५ लाख कित्तासम्म साधारण सेयर रहेका छन् । लाईफ इन्स्योरेन्स कर्पोरेसन, तारागाउँ रिजेन्सी होटल, एनआरएन इन्फास्ट्रक्चर, नागरिक लगानी कोष र हिमालयन डिस्टिलरीको साधारण सेयरको सङ्ख्या भने एक करोड कित्ताभन्दा माथि छ । यसका बाबजुद यी कम्पनीको मूल्य उच्च नै छ ।

  • चलखेल हुने कम्पनीले नीति निर्माणमै समस्या 

उच्च मूल्य भएकामध्ये केही कम्पनी वित्तीय रूपमा राम्रा छन् । ती कम्पनीहरूको प्रतिफल समेत राम्रो र स्थिर पनि छ । तर, केही कम्पनीमा भने अत्यधिक चलखेल हुने गरेको छ । त्यसरी चलखेल कम्पनीहरू आधारभूत रूपमा निकै कमजोर छन् । यी कम्पनीको सेयर सङ्ख्यामा कर्नरिङ गरेरै मूल्यमा अत्यधिक उतारचढाव गराइएको बुझ्न सकिन्छ । यसबाट बजारका विश्लेषकदेखि सुधारकसम्म हैरान छन् ।

नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकाल बजारका केही कम्पनीमा अस्वाभाविक रूपमा उतारचढाव भएको स्वीकार गर्छन् । वित्तीय अवस्था वा कम्प्लायन्समा कमजोर भएका यस्ता कम्पनीको थोरै सेयर भएकै कारण मूल्य एउटा सीमित व्यक्ति वा समूहले कर्नरिङ गर्ने अवस्था देखिएको उनको भनाइ छ । त्यसैले यस्ता कम्पनीका सेयरमा लगानी गर्नुअघि विशेष ध्यान दिनुपर्नेमा उनको जोड छ ।

त्यसो त, यिनै कम्पनीका कारण नियामक निकाय समेत सेयर बजारप्रति सकारात्मक बन्न सकेका छैनन् । मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामा सेयर कर्जाको जोखिम भारलाई १२५ बाट १०० प्रतिशतमा झार्न माग हुँदै आएको थियो । तर, राष्ट्र बैंक यसमा उदार भएन । सेयर मूल्यले वित्तीय अवस्थालाई प्रतिनिधित्व गर्न नसक्ने र अस्वाभाविक उतारचढाव हुने गरेका कारणले पनि उदार नीति लिन नसकिएको केन्द्रीय बैंकका अधिकारीहरूको भनाइ रहँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *