युवा ब्याट्सम्यान रोहित कुमार पौडेलको संयमित ब्याटिङ र अलराउन्डर करण केसीको आक्रामक इनिङको सहयोगमा नेपालले पपुवा न्युगिनीलाई दोस्रो ओडिआई खेलमा २ सय ३४ रनको मध्यम लक्ष्य दिएको छ । अल अमरेत क्रिकेट मैदान ओमानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपाल ४९.३ ओभरमा २ सय ३३ रनमा अल आउट भयो ।
नेपालका लागि युवा ब्याट्सम्यान रोहित कुमार पौडेलले १२३ बलमा २ चौका र ३ छक्का सहित सर्वाधिक ८६ रन बनाएका छन् । करण केसीले २६ बलमा २ चौका र ४ छक्का सहित ४२ रनको आक्रामक इनिङ खेल्दै आउट भएका थिए । ज्ञानेन्द्र मल्लले ७० बलमा ४५ रन कायम गरे । बिनोद भण्डारीले ३६ बलमा १७ रान बनाए भने सोमपाल कामीले १८ बलमा ११ रन बनाएका छन् । त्यस्तै कौशल मल्लले पाँच बलमा एक रन, बिक्रम सोबले एक रन बनाएका हुन् । कौशल भूर्तेल र आसिफ सैखले क्रमश ३, ३ रन कायम गरेका छन् ।
पिएनजीका काबुआ मोरियाले १० ओभरमा १ मेडन सहित २६ रन खर्चेर २ विकेट लिए । चन्द सोपरले ९ ओभरमा ४५ रन खर्चेर ३ विकेट लिए । नर्भन भानुआ २ र चाल्स अमिनिले एक विकेट लिए । नेपाली राष्ट्रिय क्रिकेट टिमले शुक्रबार पपुवा न्युगिनी (पीएनजी)विरुद्ध दोस्रो ओडीआई म्याच खेलिरहेको छ । ओमान र अमेरिकासँग विश्वकप लिग २ को सिरिज खेल्न ओमानमा रहेको नेपालले त्यसैको तयारी स्वरुप पीएनजी खेलेको हो ।