नेपालले पहिलो ओडिआई खेलमा पपुवा न्युगिनीलाई दुई विकेटले पराजित गरेको छ । जितको लागि १ सय ३५ रनको सामान्य विजयी लक्ष्य पछ्याएको नेपालले ३९.३ ओभरमा ८ विकेटको क्षतिमा पूरा गरेर युवा ब्याट्सम्यान रोहित कुमार पौडेल र सोमपाल कामीको संयमित ब्याटिङमा पिएनजीमाथी जीत हासिल गरेको हो । नेपाली समय अनुसार बिहान ११:१५ मा अल अमरेत क्रिकेट मैदान ओमानमा सुुरु भएको खेलमा नेपालको ज्ञानेन्द्र मल्ल र पिएनजीको असाद भालाले कप्तानी गरेका हुन् ।
नेपालका लागि रोहित कुमार पौडेलले ६५ बलमा २ चौका सहित सर्वाधिक ४१ रन बनाएका छन् । सोमपाल कामीले ३२ बलमा १ चौका र १ छक्का सहित २२ रन कायम गरेका छन् भने आरिफ शेखले २२ बलमा ३२ रन पूरा गरेका हुन् ।
नेपालका स्पिनर सन्दीप लामिछानेले १० ओभरमा ३५ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । विक्रम सोबले ५ ओभरमा १ मेडन सहित २० रन खर्चेर २ विकेट लिए । स्पिनर कुशल मल्लले ७ ओभरमा १ मेडन सहित १९ रन खर्चेर २ विकेट लिए । सोमपाल कामीले ७ ओभरमा ३७ रन खर्चेर १ विकेट लिए । नेपालले पिएनजीसँग दोस्रो ओडिआई खेल शुक्रबार खेल्ने छ ।
नेपालले आइसिसी विश्वकप लिग–२ अन्तर्गत ओमान र अमेरिकासँग त्रिकोणात्मक ओडिआई सिरिज खेल्नुअघि तयारी स्वरुप पिएनजीसँग दुई ओडिआई खेल खेलेको हो । नेपालले १९ महिनापछि ओडिआई खेल खेलेको हो । पिएनजी सोमबार अमेरिकासँग ७ विकेटले पराजित भएको थियो । पछिल्लो पटक नेपालले ओडिआई २०२० फेब्रुअरीमा नेपालले आइसिसी विश्वकप लिग–२ अन्तर्गत अमेरिकासँग टियु मैदानमा खेलेको थियो । त्यसपछि नेपालले पहिलो पटक ओडिआई खेलेको हो । वैशाखमा नेपालले मलेसिया र नेदरल्यान्ड्सँग टि२० आई त्रिकोणात्मक सिरिजमा सानदार ब्याटिङ गर्दै उपाधि जितेको थियो । सुरुवात दुई खेलमा सहज जित निकालेको नेपालले अन्तिम तीन खेलमा लगातार २ सय माथिको योगफल कटाएको थियो ।
नेपालको टोली : ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आसिफ शेख, गुलशन झा, आरिफ शेख, कुशल मल्ल, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने, अविनाश बोहरा, सुशान भारी, शरद भेषावकर, विक्रम सोब, पवन सरार्फ र रोहित कुमार पौडेल ।
पिएनजीको टोली : असाद भाला (कप्तान), टोनी उरा, लेगा सियाका, सेसे बाउ, किप्लिङ डोरिया (विकेटकिपर), गौडी टोका, हिरी हिरी, जेसन किला, दामेन राभू, नोसैन पोकना, नर्मन भानुआ, काबुआ मोरिया, चन्द सोपार र साइमन अताइ ।