आइसीसी पुरुष क्रिकेट वर्ल्ड कप लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिजको पहिलो खेलमा अमेरिकाविरुद्ध नेपालले दुई सय ३१ रनको चुनौती पाएको छ । ओमानको मस्कटस्थित अल अमरेत मैदानमा भएको खेलमा टस जितेर पहिलो ब्याटिङ रोजेको अमेरिकाले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर २ सय ३० रन बनाएको हो ।
यसअघि पपुआ न्यू गिनीसँग मैत्रीपूर्ण २ एकदिवसीयको खेल खेलेको नेपालले अब आइसीसीको यो प्रतियोगिता अन्तर्गत ४ खेल खेल्नेछ । यो लिगमा नेपालले अहिलेसम्म ४ खेल मात्र खेलेको छ । ४ खेलमा २ जीत र २ हारका साथ ४ अंकसहित नेपाल अंक तालिकाको छैटौं स्थानमा छ । तालिकामा तल भए पनि नेपालले धेरै खेल खेल्न भने बाँकी नै छ । १२ खेल खेलिसकेको अमेरिका ६ जीत र ६ हारका साथ १२ अंकसहित दोस्रो स्थानमा छ ।
१० खेल खेलेकोमा ८ खेल जितेको र २ खेल मात्र हारेको ओमन अंक तालिकाको शीर्ष स्थानमा छ । नेपालले भोलि र आइतबार ओमनसँग पनि खेल्नेछ । अहिले नेपालले २ खेल अमेरिकासँग र २ खेल ओमनसँग गरी कूल ४ खेल खेल्दैछ । अमेरिकासँग नेपालको अर्को खेल शुक्रबार हुनेछ ।