अस्पतालका कर्मचारी नै नक्कली पीसीआर धन्दामा !

Bythetruekhabar

१९ माघ २०७८, बुधबार ११:४४ १९ माघ २०७८, बुधबार ११:४४ १९ माघ २०७८, बुधबार ११:४४

अस्पतालका कर्मचारी नै स्वाब बिनै नक्कली पीसीआर रिपोर्ट बनाउने अवैध कार्यमा संलग्न रहेको फेला परेको छ । महानगरीय अपराध महाशाखाका अनुसार भक्तपुरको मध्यपुरथिमीस्थित कौशलटारमा रहेको नागरिक कम्युनिटी टिचिङ हस्पिटल लिमिटेड र काठमाडौँको तीनकुनेमा रहेको कान्तिपुर अस्पताल प्रालिका कर्मचारी ठूलो रकम लिएर उक्त नकली धन्दामा लागेको पाइएको हो ।

उनीहरुले वैदेशिक रोजगारमा जाने व्यक्तिका लागि आवश्यक पर्ने पीसीआर रिपोर्ट नेपाल सरकारले तोकेको भन्दा अत्यधिक बढी रकम लिई स्वाबको नमूनाबिनै रिपोर्ट बनाइदिने गरेका पाइएको बताइएको छ ।

विशेष सूचनाको आधारमा मङ्गलबार नागरिक कम्युनिटी टिचिङ हस्पिटलका कर्मचारी परिचयपत्र धारी धनुषा घर भई ललितपुरको ग्वार्को बस्ने रोशनकुमार छिट्टानलाई ८ थान नक्कली पीसीआर परीक्षण रिपोर्टसहित पक्राउ गरिएको महाशाखाले जनाएको छ । प्रहरीले भक्तपुरको कौशलटारबाट उक्त अस्पताल पुग्दा सर्लाही घर भई सोही ठाउँ बस्ने ल्याब म्यानेजर प्रसन्नकुमार झालाई पनि नियन्त्रणमा लिइएको छ ।

यस्तै काठमाडौँ तीनकुनेमा रहेको कान्तिपुर अस्पताल प्रालिका कर्मचारी धनुषा घर भई काठमाडौँको गौशाला बस्ने नागेन्द्रकुमार यादवलाई पनि १७ थान नक्कली पीसीआर रिपोर्टसहित नियन्त्रणमा लिइएको र उनको बयानका आधारमा सोही ल्याबका कर्मचारी काभ्रेपलाञ्चोक घर भई सूर्यविनायक बस्ने माधव मैनालीलाई समेत पक्राउ गरिएको छ ।

प्रहरीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका प्रतिनिधिसमेतको रोहबारमा दुवै अस्पतालका ल्याबबाट नक्कली पीसीआर बनाउन प्रयोग भएका कम्प्युटरलगायतका उपकरण र पीसीआर टेस्ट दर्ता रजिष्टरसमेत नियन्त्रणमा लिएको छ । फरार रहेका दुबै ल्याबका सञ्चालक भावेश मिश्र र निर्मल गिरी तथा पीसीआर रिपोर्टमा दस्तखत गर्ने ल्याब चिकित्सकको खोजतलास कार्य भइरहेको महाशाखाले जनाइएको छ । दुबै अस्पतालका ल्याब सिल गरी अनुसन्धान भइरहेको छ । प्रहरीको अनुसन्धानमा उनीहरुले रिपोर्ट नै नेगेटिभ बनाउने गरेको र ल्याबमा कार्यरत भनिएका विशेषज्ञ चिकित्सकले रिपोर्ट नै नहेरी आफ्नो डिजिटल हस्ताक्षर प्रयोग गरी रिपोर्ट दिने गरेको पाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *