राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दोस्रो स्थापना दिवस शुक्रबार मनाएको छ। रास्वपाले केन्द्रीय कार्यालय चस्मतीमा चियापानसहितका कार्यक्रम गरी स्थापना दिवस मनाएको हो।
रास्वपा स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरे, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई लगायत विभिन्न दलका शीर्ष नेताहरू पुगेका थिए।
चियापान कार्यक्रममा संवैधानिक अंगका प्रमुख, सुरक्षा र निजामती सेवाका उच्च अधिकारी, उद्योगी–व्यवसायी पनि सहभागी भएका थिए। २०७९ असार ७ गते स्थापना भएको रास्वपा असार १७ गते निर्वाचन आयोगमा दर्ता भएको थियो। २०७९ मंसिरमा भएको निर्वाचनमा मुलुकको चौथो शक्तिका रूपमा रास्वपा प्रतिनिधिसभामा उपस्थित छ।
रास्वपा सभापति रवि लामिछानेको नेतृत्वमा दाहाल सरकारमा सहभागी छ। चियापान कार्यक्रममा पार्टी स्थापनाको दुई वर्षमा भिरको बाटोमा सिस्नो समाएर हिँडेको प्रतिक्रिया सञ्चारकर्मीलाई दिँदै सभापति एवं गृहमन्त्री लामिछानेले भने, ‘जनताको अपेक्षा असाध्यै धेरै छन्, जुन पूरा गर्न हामी मेहनत र लगनका साथ लागेका छौं। तर वर्षौंदेखिको बेथिति चिर्न केही समय लाग्छ नै।’
कार्यक्रममा सहभागी एमाले अध्यक्ष ओलीले रास्वपा राम्रो रहेको बताए। नेपाल समाजवादी पार्टीका अध्यक्ष भट्टराईले पुराना दलहरूसँग लसपस गरिरहे रास्वपा हराएर जानसक्ने बताए।