भाटभटेनीले दिने पार्टटाइम जागिरमा कति पाइन्छ तलब?

Bythetruekhabar

१५ असार २०८१, शुक्रबार ०४:०४ १५ असार २०८१, शुक्रबार ०४:०४ १५ असार २०८१, शुक्रबार ०४:०४ #Bhatbatani focusing to provide part time job, #Bhatbhatani starting pert time job opportunities

भाटभटेनी सुपर स्टोरले अब पार्टटाइम जागिर दिने भएको छ। यसको लागि देशभर रहेका २७ वटा शाखाबाट आवेदन माग गरिएको छ।

हाल भाटभटेनी सुपर मार्केटमा आठ हजार जनाले नियमित रोजगारी पाएका छन्। अब भने एकै पटक थप दुई हजार जनालाई आबद्ध गर्ने गरी पार्टटाइम जागिरको व्यवस्था गर्न थालिएको भाटभटेनी सुपर मार्केटमा प्रमुख सञ्चालन अधिकृत (सिओओ) पानु पौडेलले बताए।

भाटभटेनीले आगामी साउन १ गतेबाट नै यस्तो रोजगारी दिने तयारी गरेको छ। घण्टाको आधारमा काम दिने र सात दिनमा तबल दिने उसको योजना  छ।

व्यावसायिक क्षेत्रमा घण्टाको आधारमा जागिर तथा साप्ताहिक तलब भुक्तानी नयाँ अभ्यास हो।

भाटभटेनीले कस्ता मानिसलाई यस्तो जागिर दिन्छ, कति पैसा दिन्छ, कति समय काम लगाउँछ, अहिले काम गर्दै गरेका कर्मचारीको हकमा के हुन्छ र यस्तो कामको लागि कानुनी व्यवस्था कस्तो छ? यो चासोको विषय हो।

भाटभटेनी सुपर मार्केटका सिओओ पौडेलका अनुसार अहिले २७ शाखामा गरी दुई हजार जनालाई यस्तो रोजगारी दिन थालिएको हो। यसका लागि कुन शाखामा कति जनालाई काम लगाउने भनेर सूची तयार गरिएको छ।

सबै मानिसले पार्टटाइम जागिर भने अहिले पाउने छैनन्। ‘यो हामीले सुरुवात गरेका हौँ, प्लस टु पढ्ने विद्यार्थी अहिले हाम्रो फोकसमा छन्,’ उनले भने।

उनका अनुसार एसइई पास गरेको र २१ वर्ष ननाघेका व्यक्तिलाई पार्टटाइम रोजगारी दिन थालिएको हो। पहिले आवेदन दिने र सम्बन्धित भाटभटेनीको शाखाबाट नजिक बस्ने व्यक्तिलाई पहिलो प्राथमिकता दिइने छ। यसका साथै अन्तर्वार्ता विधिबाट छनोट गरिने उल्लेख छ।

‘काम गर्नु परेको कारण पढ्न नपाउने तथा पढाइ भएको कारण काम नपाउने अवस्थालाई तोड्न खोजेका हौँ,’ पौडेलले भने, ‘यो समयमा यस्तो जनशक्तिसँग काम नहुँदा अनुत्पादक काममा लाग्ने भएको कारण पनि हामीले पार्टटाइम जागिर दिनु पर्छ भन्ने सोच बनाएका हौँ।’

उनले यस्तो जागिरको कारण पुरानो कर्मचारीलाई समस्या नहुने बताए। तर, त्यहाँ नियमित रूपमा काम गर्दै आएका कर्मचारीले भने पार्टटाइम जागिर पाउने छैनन्।

पार्टटाइम जागिरको लागि दुईदेखि चार घण्टाको समय तोकिने भाटभटेनीले जनाएको छ। उनीहरूले एक घण्टा काम गरेबापत एक सय रूपैयाँ माथिको तलब पाउने छन्।

अहिले सरकारले एक घण्टाको न्यूनतम ९५ रूपैयाँ ज्याला तोकेको छ। सरकारले तोकेको भन्दा १५/२० प्रतिशत बढी ज्याला दिने गरी व्यवस्था गरिने पौडेलले बताए।

उनीहरूले काम गर्दै पढ्ने संस्कार विकासको लागि यस्तो जागिर दिन सुरू गरेको पौडेलले बताए। यसका लागि कानुनी सहजीकरणको लागि भाटभटेनीले सरकारलाई आग्रह गरेको छ।

‘कानुनी अड्चन देखेका त छैनौँ तर यस्तो कामको लागि आवश्यक कानुनी व्यवस्था गरिदिन भनेका छौँ,’ पौडेलले भने।

श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका निर्देशक मणिनाथ गोपले पार्टटाइम जागिर गर्ने गरी कानुनी व्यवस्था भएको बताए।

‘श्रम ऐनको दफा १० अनुसार पार्टटाइम जागिर लगाउन सकिने पनि व्यवस्था रहेको छ,’ उनले भने।

श्रम ऐनको दफा १० ले रोजगारदाताले ५ प्रकारको रोजगारी लगाउन सक्ने व्यवस्था गरेको छ। जस अनुसार नियमित रोजगारी, कार्यगत रोजगारी, समयगत रोजगारी, आकस्मिक रोजगारी र आंशिक रोजगारी छन्।

रोजगारदाताले कुनै खास काम वा सेवा किटान गरी सो सम्पन्न गर्न तोकेर दिने वा दिएको रोजगारीलाई कार्यगत रोजगारी भनिएको छ।

रोजगारदाताले श्रमिकलाई निश्चित समयावधि तोकी सो अवधिभित्र कुनै सेवा प्रदान गर्न वा काम सम्पन्न गर्ने गरी दिने वा दिएको रोजगारीलाई समयगत रोजगारी भनेर व्याख्या गरिएको छ।

रोजगारदाताले एक महिनाको अवधिमा सात दिन वा सोभन्दा कम अवधिको लागि कुनै सेवा प्रदान गर्न वा काम सम्पन्न गर्ने गरी दिने वा दिएको रोजगारीलाई आकस्मिक रोजगारी भनिएको छ।

हप्तामा ३५ घण्टा वा सोभन्दा कम समयमा (काम सम्पन्न गर्ने गरी दिने वा दिए) रोजगारीलाई आंशिक रोजगारीमा व्याख्या गरिएको छ। उल्लेखित रोजगारी बाहेकको नियमित काम लगाएर दिइने रोजगारीलाई भने नियमित रोजगारी भनिएको छ।

नेपाल ट्रेड युनियन कांग्रेसका पूर्व अध्यक्ष पुष्कर आचार्य पनि कानुन अनुसार घण्टाको आधारमा काम लगाउन समस्या नहुने बताउँछन्।

उनले दुई वटा विषयमा भने ध्यान पुर्‍याउने पर्ने बताए।

घण्टाको आधारमा दिने रोजगारको कारण नियमित रोजगारी गर्ने रोजगारदाताको रोजगारी खोसिन नहुने उनकाे भनाइ छ। त्यस्तै पार्टटाइम जागिर गर्नेलाई पनि सामाजिक सुरक्षा कोषको दायरामा ल्याइन पर्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *