नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपालसहितको स्थायी कमिटी बैठक बोलाउने तयारी गरेका छन्।
एमाले प्रवक्ता प्रदीपकुमार ज्ञवालीले त्यसका लागि गृहकार्य भइरहेको नेपाल लाइभलाई बताए।
‘हामी गृहकार्यमै छौं, सकभर असार २ गते बैठक बोलाउन सकिन्छ कि भन्ने प्रयास हो,’ उनले भने, ‘बैठक कस्तो हुने र त्यसमा को कसरी सहभागी हुने भन्नेबारे मोडालिटीमा छलफल हुँदैछ। त्यसपछि सबै स्थायी कमिटी सदस्यहरुलाई खबर गर्छौं।’
ज्ञवालीले अध्यक्ष ओलीले पार्टी एकताका लागि गरेको ६ बुँदे आह्वानका आधारमा यो बैठक बोलाउन लागिएको जानकारी दिए।
बैठकको मिति तय भइनसकेको, प्रदेशहरुमा बजेटको चटारो रहेको र कतिपय मुख्यमन्त्रीहरु पनि सहभागी हुनुपर्ने भएकाले एकदुई दिन यताउता हुनसक्ने उनले बताए।
एमालेका अर्का एक नेताले भने नेपालपक्षसहितको बैठक बोलाउने तयारी भइरहेको तर, बोलाउनसाथ नेपाल पक्ष सहभागी हुने वा नहुनेबारे कुनै टुंगो नभएकाले पहिले त्यसबारे निक्र्योल गरेर मात्र बैठक आह्वान गरिने बताए।