देउवाको ‘रिटायरमेन्ट’ अभिव्यक्तिले उत्साह

Bythetruekhabar

२९ भाद्र २०८१, शनिबार १४:०८ २९ भाद्र २०८१, शनिबार १४:०८ २९ भाद्र २०८१, शनिबार १४:०८ #Sher Bahadur Dewa statement on retirement from politics

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ‘राजनीतिक रिटायरमेन्ट’को घोषणा गरेका छन् । सभापति देउवाले उमेर र अन्य कारण देखाउँदै ‘राजनीतिक जिम्मेवारी हस्तान्तरण’को घोषणा गरेका हुन् ।

बिहीबार पार्टी कार्यालय सानेपामा आयोजित कार्यक्रममा सभापति देउवाले भनेका थिए, ‘मेरो उमेर र अन्य कारणले रिटायरमेन्टको बेला भइसक्यो । पार्टीको चिन्ता मैले पनि गरिरहेको छु, भोलि आउने नेताहरूले मैलेभन्दा बढी चिन्ता गर्नुपर्ने हो ।’

देउवा पाँच पटक प्रधानमन्त्री भइसकेका छन् । वर्तमान सत्ता गठबन्धनबिच भएको सहमति कार्यान्वयन हुने हो भने छैटौँ पटक प्रधानमन्त्री बन्नेछन् ।

नेपाल विद्यार्थी सङ्घको पहिलो निर्वाचित सभापतिदेखि कांग्रेस विभाजनसम्मको इतिहास देउवाले रचेका छन् । कांग्रेस विभाजन गरी आफ्नै नेतृत्वमा नेपाली कांग्रेस (प्रजातान्त्रिक) पार्टी गठन गरेका देउवाले पार्टी एकतापछि पनि सभापतिको रूपमा लगातार दोस्रो कार्यकाल नेतृत्व गरिरहेका छन् । कांग्रेसलाई कोइराला परिवारको चङ्गुलबाट बाहिर ल्याउने श्रेय पनि उनलाई छ ।

विद्यार्थी राजनीतिबाट उदाएका देउवालाई पार्टीको विधानले बिदाइ गर्ने समय आएको छ । विधानले तोकेको समयभित्रै पार्टी महाधिवेशन भएमा २०८२ पछि देउवाको भूमिका पार्टीको अभिभावकका रूपमा सीमित हुनेछ । पार्टीको १५ औँ महाधिवेशनपछि उनको सक्रिय राजनीतिक जीवन अवकाशमा जानेछ ।

राजनीतिक विश्लेषक शंकर तिवारी सभापति देउवाको पछिल्लो अभिव्यक्तिले राजनीतिक जीवनको अवकाशलाई स्वीकार गरेको अर्थमा बुझ्नुपर्ने बताउँछ ।

‘पार्टीको विधान संशोधन गरेर वा अन्य कुनै पनि चालबाजी गरेर उहाँ (सभापति देउवा) तेस्रो कार्यकालतिर जानुहुन्न,’ तिवारीले रातोपाटीसित भने ।

नेतृत्वमा पुग्न देउवाकै ‘आशीर्वाद’को पर्खाइ

देउवाको पछिल्लो अभिव्यक्तिले कांग्रेसभित्र नयाँ तरङ्ग सिर्जना गरेको छ । १५औँ महाधिवेशनबाट नेतृत्व हत्याउन चाहेकाहरूमा उनको अभिव्यक्तिले थप ऊर्जा प्रवाह गरेको छ ।

साउन २३ बाट सुरु भएर पटक–पटक स्थगन हुँदै भदौ १६ मा सम्पन्न पार्टी केन्द्रीय समिति बैठकमा पनि सभापति  देउवाको बहिर्गमनको चर्चा भएको थियो । आफूले छाडेर जाँदै गर्दा आफूसँगै राजनीति गरेकालाई नेतृत्वमा पु¥याइदिन देउवासामु अनुनय विनय भएको थियो ।

महामन्त्री विश्वप्रकाश शर्माले देउवालाई छैटौँ पटक प्रधानमन्त्री नबन्न अनुरोध नै गरे । उनले पुरानै पुस्ताका नेतालाई भए पनि नेतृत्व छाड्न देउवासमक्ष सुझाव राखेका थिए । शर्माले डा शेखर कोइराला, विमलेन्द्र निधि, प्रकाशमान सिंह, पूर्णबहादुर खड्का, डा शशांक कोइराला वा अर्जुननरसिंह केसीमध्ये एकलाई प्रधानमन्त्री बनाउन सकिने सुझाव दिएका थिए ।

‘उहाँहरूमध्ये कसैलाई पनि हामीले प्रधानमन्त्री बनायौँ भने एक, सभापतिको त्याग देखिन्छ । दुई, उहाँको समकालीन कोही नेतालाई न्याय र कदर हुन्छ र तीन, तब ०८४ पछि हामी नयाँ अनुहारमा पुग्नेछौँ,’ शर्माको प्रस्ताव थियो ।

जवाफमा सभापति देउवाले ‘तपाईंले छोड् भन्नुभयो, ठिक छ । त्यो तपाईंको विचार हो, तर कसैले छोड् भन्दैमा मैले छोड्नुपर्छ भन्ने छैन । म अहिल्यै छोड्दिनँ’ भन्ने प्रतिक्रिया दिएका थिए ।

बैठक अवधिभर देउवाको सेन्टिमेन्ट पाउने झिनो आस नेताहरूले पालेकै हुन् । उनीनिकट मात्र होइन, उनीसँग ‘वैचारिक दुस्मनी’ पालेर राजनीति गरिरहेका नेता बलबहादुर केसीले पनि देउवाकै आशीर्वाद खोजेका थिए । भदौ ७ को बैठकमा सभापति देउवाका समकालीन नेताहरूले ‘अबको सभापति’ बन्ने तीव्र आकाङ्क्षा देखाए ।

नेताहरू विमलेन्द्र निधि, विजय कुमार गच्छदार, बलबहादुर केसी, कृष्ण सिटौलाले आफूलाई सभापति बनाएर पार्टीको अभिभावकत्व ग्रहण गर्न देउवालाई अनुरोध गरेका थिए । उक्त बैठकमा पूर्व उपसभापति विजयकुमार गच्छदारले भनेका थिए, ‘तपाईंसँगै लडेको, दुःख गरेको बलबहादुर केसीलाई सभापति बनाउनु होस् वा विमलेन्द्र निधि, प्रकाशमानजी, पूर्णजीलाई सभापति बनाउनुहोस् । तपाईंले बनाउनुहुन्छ भने म पनि तयार छु ।’

त्यसैले पनि देउवाले बिहीबार पार्टी कार्यालयमा दिएको अभिव्यक्तिले नेतृत्वमा जान चाहेका नेताहरूमा उत्साह थपिएको पुष्टि हुन्छ । पार्टीभित्र इतर समूहका नेता सञ्जय गौतम सभापति देउवासँग दुरी बढाएर पार्टीको हित नहुने तर्क गर्छन् ।

‘उहाँसँग दुरी बढाएर कसैलाई फाइदा हुँदैन । मिलेर जाँदा राम्रो हुन्छ । यसलाई आत्मसमर्पण भनेर व्याख्या पनि गरिनु हुँदैन,’ रातोपाटीसित गौतमले भने, ‘उहाँ (देउवा)ले पनि सबैलाई समेटेर कुनै गुटको पक्षपोषण नगरी अभिभावकको भूमिकामा बिदाइ हुँदा राम्रो सन्देश जान्छ ।’

सभापतिको सम्भावित उम्मेदवार

पार्टीको १५ औँ महाधिवेशन नजिक आउँदा सभापतिमा चुनाव लड्ने घोषणा डा. शेखर कोइरालाले गरिसकेका छन् । यस्तै, शशांक कोइराला पनि सभापति लड्दा बिपी पुत्र भएकाले जित हासिल गर्न सहज हुने सार्वजनिक रूपमा घोषणा गरिसकेका छन् । महामन्त्री गगनकुमार थापाले औपचारिक रूपमा नभने पनि देश दौडाहा गरेर आफूलाई सभापतिको उम्मेदवारको रूपमा उभ्याएका छन् ।

पार्टीभित्र सभापति देउवा पश्चात् गोपालमान श्रेष्ठ, विजयकुमार गच्छदार, विमलेन्द्र निधि उपसभापति भइसकेका नेता हुन् । नेताहरू कृष्णप्रसाद सिटौला र प्रकाशमान सिंहले पनि देउवासँग सभापतिमा प्रतिस्पर्धा गरिसकेका छन् । यस्तै नेता कल्याण गुरुङले पनि १४ औँ महाधिवेशनमा सभापति पदमा भिडन्त गरेका थिए ।

तर, १४ औँ महाधिवेशनमा सभापतिमा चुनाव लडेका नेताहरू निधि, सिंह, गुरुङ हाल देउवा क्याम्पमै फर्किसकेका छन् । उनीहरूले १५ औँ महाधिवेशनमा देउवाकै समर्थन लिएर चुनावी मैदानमा जाने तयारी गरेका छन् ।

वर्तमान उपसभापति पूर्णबहादुर खड्काले आफूलाई देउवाको उत्तराधिकारीको रूपमा प्रस्तुत गर्दै हिँडिरहेका छन् । यसबाहेक सभापति देउवाले पत्नी आरजु राणा देउवाको पनि व्यवस्थापन गर्नुपर्ने छ । अर्का उपसभापति धनराज गुरुङ भने सभापतिमा शेखर कोइराला नउठे मात्र आफू सभापतिमा चुनाव लड्ने प्रतिबद्धता जनाएको बताउँछन् ।

सभापति देउवा निकट केन्द्रीय सदस्य गुरु बरालको बुझाइमा कांग्रेसको केन्द्रीय नेतृत्वमा पुग्छु भन्ने लागेका सबैलाई सभापति देउवाको सहयोग चाहिएको छ ।

‘बाहिरबाट हेर्दा युवाहरू साह्रै चर्का देखिन्छन् । भित्रचाहिँ चाकडी गरेर सबै उनको आशीर्वाद लिने चक्करमा छन्,’ बरालले भने, ‘चाहे युवा, चाहे बुढा हुन्, सभापतिलाई रिझाएर नेतृत्वमा पुग्न चाहेका छन् ।’

राजनीतिक विश्लेषक तिवारी हालसम्म सभापति देउवाले कसलाई उत्तराधिकारी बनाउने भन्ने निर्णय नलिएको बताउँछन् । महामन्त्रीहरू देउवासँग नजिक नभएको तथा अघिल्लो महाधिवेशनमा प्रत्यक्ष प्रतिस्पर्धामा उत्रिएका नेताहरू प्रकाशमानदेखि विमलेन्द्र निधिले ‘देउवासँगै राजनीतिक सरेन्डर’ गरिसक्दा कसलाई देउवाको आशीर्वाद चाहिएको छ भन्ने विश्लेषण गर्न गाह्रो नहुने उनको भनाइ छ ।

तिवारीका अनुसार १४ औँ महाधिवेशनमा देउवासँग प्रतिस्पर्धा गरेका शेखर कोइराला पनि देउवाको कार्यशैलीमा सैद्धान्तिक विमति नराखी सहयोग कुरेर बसेको तर्क गर्छन् । ‘महामन्त्रीहरू प्रतिरोधको शैलीमा निश्चित सीमा रेखामा रहेर बोलेका छन्,’ विश्लेषक तिवारीले भने, ‘उहाँ (शेरबहादुर)को सहयात्री र उहाँकै भारी बोकेर थिचिएकाहरू सहयोगको आस गरेर बसेका छन् ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *