२५ मंसिर, काठमाडौं । वेष्टइण्डिजका पूर्व कप्तान एवम् लेजेण्डरी क्रिकेटर ब्रायन लारा नेपाल आउने भएका छन् । नेपाल प्रिमियर लिग आयोजक समेत रहेको नेपाल क्रिकेट संघ (क्यान)ले लारा यही एनपीएलकै सन्दर्भमा नेपाल आउन लागेको जनाएको हो ।
‘ब्रायन लारा यो हप्ता भित्र आइपुग्ने कुरा छ । उनी अहिले भइरहेको एनपीएल हेर्न आउन लागेका हुन्’ क्यानका प्रवक्ता छुम्बी लामाले भने, ‘विश्वकै लेजेण्ड क्रिकेटर आएर नेपाली क्रिकेट हेर्दा र अबजर्भ गर्दा नेपाली क्रिकेटबारे संसार भर सन्देश जाने अनी क्यान र नेपाली क्रिकेटलाई पनि केही सुझाव दिने लगायत कुराहरु हुन्छ । फाइनलसम्म बस्ने नबस्ने निश्चित छैन । त्यो आएपछि पछि थाहा हुन्छ।’
लाराको आगमनले प्रतियोगिताले थप नयाँ उचाइ लिने क्यानको भनाइ छ । उनी पहिलोपटक नेपाल आउन लागेका हुन् ।
यसअघि उनले गतवर्ष नेपाली क्रिकेट टोली टी-२० विश्वकपमा छनोट हुँदा बधाइ दिँदै उनले आफू नेपाल आउन चाहेको बताएका थिए ।
नेपाल विश्वकपमा छनोट भएको केही समयपछि एक नेपाली क्रिकेट फ्यानसँगको ट्वीट सम्वादमा उनले नेपाली टोलीको प्रशंसा गरेका थिए ।
त्यसपछि उनले ट्वीट गर्दै नेपाली टोलीको खेल चमत्कारिक रहेको भन्दै बर्मुडामा खेल हेर्दा नै आफू प्रभावित भएको बताएका थिए ।
लाराले वेस्टइन्डिजका लागि १३१ टेस्टमा झण्डै १२ हजार रन बनाएका छन् भने २९९ ओडिआई खेल्दा १० हजारभन्दा धेरै रन बनाएका छन् ।
उनले वेस्टइन्डिजका लागि सन् २००४ को च्याम्पियन्स ट्रफी समेत जितेका छन् । उनी क्रिकेट जगतमा ‘द प्रिन्स’ उपनामले परिचित छन् ।