एनपीएलमा लुम्बिनी र काठमाण्डुबीचको महत्वपूर्ण प्रतिस्पर्धा

Bythetruekhabar

२६ मंसिर २०८१, बुधबार ०३:०४ २६ मंसिर २०८१, बुधबार ०३:०४ २६ मंसिर २०८१, बुधबार ०३:०४ #Important rivalry between Lumbini and Kathmandu in NPL

२६ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएल क्रिकेटमा बुधबारको दोस्रो खेलमा लुम्बिनी लायन्स र काठमाण्डु गुर्खाजबीच प्रतिस्पर्धा हुँदै छ । खेल दिउँसो १ बजेदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरू हुनेछ ।

काठमाण्डुको कप्तानी करण केसीले गर्दैछन् भने लुम्बिनीमा रोहित पौडेल कप्तान छन् । काठमाण्डुले पाँच दिनको ग्यापपछि खेल खेल्न लागेको हो भने यसबीचमा लुम्बिनीले आफ्ना लगातार चार खेल खेलिसकेको छ ।

अंकतालिकामा काठमाण्डु ३ खेलमा २ अंकका साथ छैटौं स्थानमा छ । त्यस्तै लुम्बिनी ५ खेलमा समान २ अंक भएपनि नेटरनरेटका आधारमा काठमाण्डुभन्दा एक स्थानमाथि पाँचौंमा छ ।

यहाँबाट लुम्बिनीको प्लेअफ सम्भावनाको झिनो आशा बाँकी नै रहँदा काठमाण्डुलाई पनि जित्नुपर्ने दबाब हुनेछ । आजको खेलमा लुम्बिनी विजयी भएमा प्लेअफको आशा बाँकी नै रहनेछ भने काठमाण्डुलाई धक्का लाग्ने छ ।

काठमाण्डु विजयी भएमा प्लेअफको दौडमा ठुलो सहयोग पुग्ने छ भने लुम्बिनी बाहिरिने पक्का हुनेछ । त्यसैले आजको यो खेल दुवै टोलीका लागि महत्वपुर्ण हुनेछ ।

काठमाण्डुले पनि प्रतियोगिताको सुरूवातमा हार व्यहोरेको थियो भने त्यसपछिको खेल जित्दा तेस्रो खेलमा हार व्यहोरेको थियो । पहिलो खेलमा चितवनविरुद्ध कम स्कोरमा अलआउट भएको काठमाण्डुले दोस्रो खेलमा ३ विकेटको जित निकाल्दा तेस्रो खेलमा फराकिलो हार व्यहोरेको थियो ।

काठमाण्डुले हात पारेको त्यो एउटा जित पनि सहज भने थिएन । ३ विकेटको जितमा करण केसीको क्यामिओ र सुमित महर्जनको शान्त इनिङ समावेश थियो ।

काठमाण्डुको टप अर्डरबाट सोचेअनुरूप प्रदर्शन हुन सकिरहेको छैन । विदेशी खेलाडीहरू स्टेफेन एस्किनाजी र माइकल लेभिटले पाएको सुरूवातलाई ठुलो स्कोरमा परिणत गर्न सकेका छैनन् ।

त्यस्तै जेरार्ड एरासमसले ब्याटिङ एकेनासको गरेका छैनन् भने बलिङबाट भने राम्रो गरेका छन् । काठमाण्डुले ब्याटिङमा देखिएको समस्या हल गर्न सकेमा बाँकी चार खेलमा सहज हुनेछ । पेस बलिङमा करण केसी र राशिद खान ठिकै देखिएका छन् भने स्पीनमा एरासमससँगै शाहब आलम र नाथन सोटर ठिकठाक देखिएका छन् ।

काठमाडौंले अब लुम्बिनीपछि जनकपुर, पोखरा र विराटनगरसँग खेल्न बाँकी छ ।

उता लुम्बिनीको अवस्था भने आफ्नो सबै खेल जितेर अन्य नतिजामा पनि भर पर्नुपर्ने अवस्था छ । लुम्बिनीले पाँचौं खेलमा आएर मंगलबार जित निकालेको थियो ।

कप्तान रोहित पौडेलले राम्रो अलराउण्ड प्रदर्शन गर्दा अन्यबाट भने कन्सिस्टेन्ट प्रदर्शन हुन सकेको छैन । ओपनिङ कम्बिनेशनमै तीन परिवर्तन गरिसकेको लुम्बिनीले हालसम्म ओपनिङमा राम्रो गर्न भने सकेको छैन । विदेशीबाट साद बिन जफरले राम्रो गरिरहँदा ठुला नाम बेन कटिङ चलेका छैनन् ।

मंगलबारको खेलमा पनि रोहित पौडेलले अलराउण्ड प्रदर्शन गर्दै खेल जिताएका थिए । पेस बलिङमा दुर्गेश गुप्ता र रामोन सिमोण्ड्स ठीकै देखिएका छन् भने स्पीनमा जफर र कप्तान रोहितले राम्रो गरेका छन् भने युवा बलर अभिशेष गौतमले पनि विकेट निकालेका छन् ।

लुम्बिनीले अब काठमाण्डुपछि कर्णालीसँग खेल्न बाँकी छ । लुम्बिनीलाई दुईवटै खेल जित्नुपर्ने दबाब छ भने अन्य नतिजामा पनि भर पर्नुपर्ने अवस्था छ ।

खेल : लुम्बिनी लायन्स भर्सेस् काठमाण्डु गुर्खाज

Leave a Reply

Your email address will not be published. Required fields are marked *