उद्योगीको गुनासो- भारतबाट तस्करी हुँदा स्वदेशी चिनीले बजार पाएन

Bythetruekhabar

२५ मंसिर २०८१, मंगलवार १५:३७ २५ मंसिर २०८१, मंगलवार १५:३७ २५ मंसिर २०८१, मंगलवार १५:३७ #indigenous sugar did not find market due to smuggling from India

नेपालका चिनी उद्योगीहरूले भारतबाट भइरहेको चिनी तस्करी तत्काल रोक्न सरकारसँग माग गरेका छन्।

चिनी उद्योगीहरूले मंगलबार पत्रकार सम्मेलन गर्दै तस्करीकै कारण स्वदेशी चिनीले बजार पाउन नसकेको र यसले उद्योग सञ्चालनमा गम्भीर समस्या ल्याएको बताए।

नेपाल चिनी उद्योग संघका अध्यक्ष शशिकान्त अग्रवालले अहिले ३५ प्रतिशत मात्र चिनी उद्योग सञ्चालनमा रहेको जानकारी दिए। तस्करीको चिनीले बजार ओगट्दा स्वदेशी उत्पादन बिक्री हुन नसकेको उनको भनाइ छ।

‘सामान्यतया चिनी उत्पादन सिजनमा चिनीको माग बढ्नुपर्ने हो। तर, अहिले तस्करीकै कारण स्वदेशी चिनी माग नभएको अवस्था छ,’ अग्रवालले भने।

उद्योगीहरूले भारतसँगको खुला सिमाना र त्यहाँ नेपालभन्दा सस्तो मूल्यमा चिनी पाइने भएकाले तस्करी बढेको र यो तत्काल रोक्नुपर्नेमा जोड दिए।

‘तस्करी रोक्न सरकारले कठोर कदम नचाल्ने हो भने स्वदेशी चिनी उद्योग धराशायी हुने निश्चित छ,’ अग्रवालले भने।

उनका अनुसार नेपालमा वार्षिक चिनीको माग दुई लाख ५० हजार मेट्रिक टन छ। स्वदेशी उद्योगले आर्थिक वर्ष २०८१/८२ मा करिब २ लाख २० हजार मेट्रिक टन चिनी उत्पादन गर्ने अनुमान छ। तर, खुला सिमानाका कारण ४० देखि ५० हजार मेट्रिक टन चिनी भारतबाट तस्करी हुने गरेको संघको दाबी छ।

तस्करीले स्वदेशी उद्योग मात्र नभई उखु किसानहरू पनि प्रत्यक्ष मारमा परिरहेको उनीहरूको भनाइ छ। महाकाली सुगर मिलका सञ्चालक शिखर श्रेष्ठका अनुसार तस्करीको चिनीले स्वदेशी बजार ओगट्दा उद्योगले किसानलाई समयमै भुक्तानी दिन नसक्ने अवस्था आउन सक्छ।

‘चिनी उद्योगले किसानलाई उखु लिएको १५ दिनदेखि एक महिनाभित्रै भुक्तानी गरिरहेको हुन्छ,’ श्रेष्ठले भने, ‘तर अहिले स्वदेशी उत्पादन बिक्री हुन नसक्दा किसानको भुक्तानी मात्र नभई बैंकको किस्ता र ब्याजसमेत तिर्न गाह्रो हुने अवस्था छ।’

स्वदेशी उद्योग र किसानको संरक्षणका लागि सरकारले तुरून्तै प्रभावकारी कदम चाल्नुपर्ने उद्योगीहरू माग छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *