राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आफ्नो एकता महाधिवेशन आगामी कात्तिकमा गर्ने निर्णय गरेको छ । राप्रपा अध्यक्षत्रयसहित केन्द्रीय निर्देशन समितिको शनिबार काठमाडौंमा सम्पन्न बैठकले आगामी कात्तिक २७, २८, २९ र ३० गते महाधिवेशन काठमाडौंमा गर्ने निर्णय गरेको हो । बैठकले महाधिवेशनको तालिका परिमार्जन पनि पारित गरेको विज्ञप्तिमार्फत राप्रपाले जनाएको छ ।
जसअनुसार वडा, गाउँ, नगर, प्रदेशसभा निर्वाचन क्षेत्र, प्रतिनिधिसभा निर्वाचन क्षेत्र र जिल्ला कार्य समितिको निर्वाचन २०७८ भदौ मसान्तसम्म सम्पन्न राप्रपाको निर्णय छ । यस्तै, सक्रिय सदस्यता वितरण पनि सोही समयमा सक्ने उसको निर्णय छ । सक्रिय सदस्यको अन्तिम सूची तयार गरी केन्द्रीय निर्वाचन समितिलाई २०७८ असोज ७ गतेसम्म उपलब्ध गराइने छ । प्रदेशसभा निर्वाचन क्षेत्रमा सक्रिय सदस्यहरूबाट महाधिवेशन प्रतिनिधिको निर्वाचन असोज २० गतेसम्म सक्ने र असोज १५ सम्ममा प्रदेश कार्यसमितिको निर्वाचन गर्ने उसको कार्यतालिका छ।राप्रपा पटक-पटक फुटपछि जुटेर महाधिवेशन केन्द्रित छ । यसको मुख्य एजेन्डा हिन्दु राष्ट्र, राजसंस्था छ ।
राप्रपाले गरेका निर्णयहरू:
राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रीय निर्देशन समितिको बैठक त्रय अध्यक्षज्यूहरुको उपस्थितीमा आज काठमाडौंमा सम्पन्न भएको छ । सो बैठकले देहाय बमोजिमका निर्णय गरेको छ ।
१. देशको हाल विद्यमान अराजक र तरल राजनैतिक अवस्थाप्रति राप्रपा गम्भिर चिन्ता प्रकट गर्दछ । एकातिर देश कोभिड– १९ को महामारीबाट अझै समस्याग्रस्त छ भने अर्कोतिर आर्थिक अराजकता, धर्म परिवर्तन, विदेशी चलखेल र भ्रष्टाचारको विगविगीले जनता आक्रान्त छन् । आम जनताको जनजीविकाका प्रश्नहरु उपेक्षित रहेका छन्। यो स्थितीको लागि राप्रपा वर्तमान सरकार र अन्य प्रमुख दलहरुबिच चलिरहेको अन्तहिन सत्तासंघर्ष तथा एक अर्कालाई तल्लोस्तरको आलोचना र लाञ्छना लगाउने प्रवृत्ति कारक ठान्दछ । देशका प्रमुख राजनैतिक दलहरु जनताको समस्याप्रति संवेदनशिल हुनुको सट्टा निरन्तर आपसी संघर्षमा रहनु दुर्भाग्यपूर्ण छ ।
२. कोभिड– १९ को दोस्रो लहर र लकडाउनका कारण यसअघि स्थगित गरिएको पार्टीको एकता महाधिवेशन आगामी २०७८ साल कार्तिक २७, २८, २९ र ३० गते काठमाडौंमा गरिने निर्णय गरिएको छ र सो अनुसारको तालिका परिमार्जनसहित बैठकले पारित गरेको छ ।
जसअनुसार–
क) वडा/गाउँ/नगर/प्रदेशसभा निर्वाचन क्षेत्र, प्रतिनिधीसभा निर्वाचन क्षेत्र र जिल्ला कार्य समितिको निर्वाचन २०७८ भाद्र मसान्तसम्म सम्पन्न गर्ने ।
ख) सक्रिय सदस्यता वितरण– २०७८ भाद्र मसान्त सम्म ।
ग) सक्रिय सदस्यको अन्तिम सूची तयार गरी केन्द्रीय निर्वाचन समितिलाई उपलब्ध गराउने– २०७८ असोज ७ गतेसम्म ।
घ) प्रदेशसभा निर्वाचन क्षेत्रमा सक्रिय सदस्यहरुबाट महाधिवेशन प्रतिनिधीको निर्वाचन– २०७८ असोज २० गतेसम्म ।
ङ) प्रदेश कार्य समितिको निर्वाचन– २०७८ असोज १५ गतेसम्म ।
३. देशव्यापी रुपमा भएको अविरल वर्षाले ठूलो जनधनको क्षती भएको छ। जनता संकटमा छन् । संकटको यस्तो समयमा राहत–सहयोग समयमै उपलब्ध गराउन नेपाल सरकार समक्ष यो बैठक माग गर्दछ ।
४. कोभिडको मारले जनता आक्रान्त छन् । पहिलो डोज खोप पाएका १४ लाख ज्येष्ठ नागरिकहरु दोस्रो डोज खोप नपाएर चिन्तित छन् । कोरोना संक्रमणको त्रास कायमै रहेको अवस्थामा यसले सृजना गरिरहेको र गर्न सक्ने समस्याहरुसँग जुझ्न सरकारको गम्भिरता, तदारुकता र इमानदारी नदेखिनु दुर्भाग्यपूर्ण छ । जनस्वास्थ्यको विषयमा गम्भिर बन्न राप्रपाको यो बैठक सरकारसँग जोडदार माग गर्दछ ।
५. राप्रपाको आउँदो महाधिवेशन सफलताका साथ सम्पन्न गर्न यो बैठक पार्टीका नेता, कार्यकर्ता शुभचिन्तक एवं आम जनसमुदायमा हार्दिक आह्वान गर्दछ । बैठकले ‘अगाडि बढ्छ राप्रपा’ भन्ने महाधिवेशनको मूल नारा तय गरेको छ ।
६. कोरोना महामारी र बाढी पहिरोका कारण ज्यान गुमाउने सम्पूर्ण नेपालीहरु, राप्रपाका नेता, कार्यकर्ताहरुप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै सम्पूर्ण शोक सन्तप्त परिवारप्रति यो बैठक गहिरो समवेदना प्रकट गर्दछ । बाढी पहिरोबाट पिडितको उद्धार, राहत र पुनर्स्थापनाका लागि सरकारसँग यो बैठक जोडदार माग गर्दछ । साथै बाढी पहिरोबाट पिडितको उद्धार, राहत र पुनर्स्थापना कार्यमा जिम्मेवारीका साथ संलग्न हुन पार्टीका देशभरीका सबै नेता, कार्यकर्तामा यो बैठक हार्दिक आह्वान गर्दछ ।