विश्वासको मत माग्न देउवाले बैठकमा प्रस्तुत गर्नुभएको मन्तव्य यस्ताे छ !

Bythetruekhabar

३ श्रावण २०७८, आईतवार १४:०२ ३ श्रावण २०७८, आईतवार १४:०२ ३ श्रावण २०७८, आईतवार १४:०२ #Pm sher bahadur deuba, #prime minister sher bahadur deuba, #sher bahadur deuba, #sher bahadur deuba pm

प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत प्राप्त गर्ने सन्दर्भमा २०७८ साउन ३ गते आज प्रतिनिधि सभाको बैठकमा प्रस्तुत गर्नु भएको मन्तव्य यस्ताे छ :

माननीय सभामुख महोदय,

प्रतिनिधि सभा विघटन पश्चात सम्माननीय सर्वोच्च अदालतको फैसलाले प्रतिनिधि सभा पुनर्स्थापित् भएको छ । आज सभाको आठौं अधिवेशन प्रारम्भ भइरहेको छ । म सबै भन्दा पहिले सबै माननीय सदस्यहरुलाई हार्दिक बधाई दिन चाहन्छु ।

नेपाली जनताको ठूलो त्याग, तपस्या र बलिदानले देशमा संघीय, लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको छ । इतिहासको लामो कालखण्डमा लोकतन्त्रका लागि भएका राजनीतिक संघर्षमा बलिदान गर्ने सम्पूर्ण शहीदहरुलाई सम्मानपूर्वक स्मरण गर्दै हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु । लोकतन्त्रको स्थापना र संरक्षणका लागि योगदान गर्नु हुने सबै नेपाली नागरिकप्रति हार्दिक सम्मान व्यक्त गर्दछु । पटक–पटकको प्रतिनिधि सभा विघटनका कारण विगत केही समय देशमा राजनीतिक अन्यौल र अनिश्चितताको स्थिति रह्यो ।

नेपालको संविधानको धारा ७६ (३) बमोजिम नियुक्त हुनु भएका निवर्तमान प्रधानमन्त्री माननीय के.पी. शर्मा ओलीजीले धारा ७६ (४) बमोजिम प्रतिनिधि सभामा विश्वासको मत नलिई धारा ७६ (५) बमोजिम प्रधानमन्त्री नियुक्तिका लागि प्रक्रिया प्रारम्भ गर्न सम्माननीय राष्ट्रपतिलाई अनुरोध गर्नु भएपछि नयाँ प्रधानमन्त्री नियुक्तिको प्रकृया प्रारम्भ भयो । केही समयको राजनीतिक र संवैधानिक अभ्यास पश्चात म नेपालको संविधानको धारा ७६ को उपधारा (५) बमोजिम प्रधानमन्त्री नियुक्त भएको छु । र मेरो नेतृत्वमा मन्त्री परिषद् गठन भएको छ । मलाई प्रधानमन्त्रीमा नियुक्त हुन सहयोग र समर्थन गर्नु हुने राजनीतिक दलका नेताहरु, माननीय सदस्यहरु लगायत सबैमा हार्दिक धन्यवाद दिन चाहन्छु । यो सरकारलाई भविष्यमा पनि निरन्तर सहयोग र समर्थन रहने विश्वास पनि लिएको छु । माननीय सभामुख महोदय, अहिले मुलुक निकै जटिल अवस्थामा छ । विश्वव्यापी रुपले फैलिएको कोभिड–१९ को प्रकोपले हामी निकै प्रभावित भएका छौँ । दैनिक रुपले संक्रमण बढीरहेको छ । मानिसहरुको मृत्यु भइरहेको छ ।

म कोभिड—१९ का कारण मृत्यु भएका सबैको आत्माको चिर शान्तिको कामना गर्दछु । शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु । अस्पतालमा उपचार गराइरहनु भएका सबैको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु । कोभिड—१९ को नियन्त्रण र रोकथामका लागि अहोरात्र खटेर काम गर्नु हुने सबैमा हार्दिक धन्यवाद दिन चाहन्छु । नेपाली नागरिकलाई कोभिड—१९ को प्रकोपबाट जोगाउने यो सरकारको पहिलो प्राथमिकता हुनेछ । सरकारले कोभिड—१९ को नियन्त्रण र रोकथामका लागि सबै उपायहरु अवलम्बन गर्नेछ भन्ने म प्रतिवद्धता व्यक्त गर्दछु । माननीय सभामुख महोदय हामी यहाँ उपस्थित सबै राजनीतिक दलहरुको प्रयत्नबाट नेपालको संविधान निर्माण भएको हो । संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको छ । यसको संरक्षण र सुदृढीकरण पनि हामी सबैको प्रयासबाट मात्र सम्भव छ । बहुदलीय व्यवस्थामा फरक–फरक राजनीतिक विचार हुने तीनका बिचमा प्रतिस्पर्धा हुने, स्वस्थ आलोचना प्रत्यालोचना हुने विषयहरु स्वाभाविक र राम्रा हुन । ती आवश्यक पनि छन । तथापि हाम्रा केही साझा चुनौती, उद्देश्य र गन्तव्य छन् जसका लागि हामीले सहकार्य र सहयात्रा गर्नु पर्छ ।

कोभिड—१९ हाम्रो तत्कालको चुनौती हो । गरीबी, बेरोजगारी, अशिक्षा जस्ता तमाम साझा समस्या छन । नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता, स्वाभिमान हाम्रा साझा विषय हुन । नेपालको संविधानको संरक्षण र यसको असल कार्यान्वयन हाम्रो साझा गन्तव्य हो । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमबाट दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्नु हामी सबैको साझा उद्देश्य हो । यसका लागि हाम्रा बीचमा सहकार्य र सहयात्राको आवश्यकता छ । सभामुख महोदय, हामी सबैसँग आ–आफ्ना अनुभवहरु छन । माननीय केपी शर्मा ओलीले विगत साढे तीन वर्ष सरकारको नेतृत्व गर्नु भएको छ । उहाँले गर्नु भएका असल कामका लागि म धन्यवाद दिन चाहन्छु । उहाँको अनुभव हाम्रा लागि उपयोगी हुनेछ ।

विगतमा भएका राम्रा कामहरुलाई निरन्तरता दिँदै कमी कमजोरी सुधार गर्दै लानु पर्नेछ । महत्वपूर्ण नयाँ कामहरु पनि गर्नुछ । देशमा सुशासन कायम गर्नुछ । यसका लागि सरकार, प्रमुख प्रतिपक्ष र सबै राजनीतिक दलहरु बीच निरन्तर सम्वाद, सहकार्य र सामूहिक प्रयत्न आवश्यक छ भन्ने मेरो मान्यता छ र यसका लागि म सदैव प्रयत्नशील रहने छु । हामी राजनीतिक दलहरु एक अर्काका शत्रु होइनौँ बरु हाम्रा साझा उद्देश्य प्राप्तिका लागि सहयात्री हौँ भन्ने भावनाका साथ काम गर्नु पर्दछ ।

सभामुख महोदय, संसदीय लोकतन्त्रको स्थापनाका लागि देशमा लामो त्याग तपस्या र बलिदानपूर्ण संघर्ष भएको हो । संसदलाई अधिकार सम्पन्न, जिवन्त र क्रियाशिल बनाउनु पर्दछ । सरकार संसदप्रति उत्तरदायी रहनु पर्दछ भने संसदले सरकारका सबै गतिविधिप्रति ध्यान दिई अनुगमन गर्नु पर्दछ । यसले लोकतान्त्रिक प्रणालीलाई बलियो बनाउँछ । निरन्तरको राजनीतिक अन्यौल, अनिश्चितता र अस्थिरताले लोकतन्त्रलाई नै कमजोर गर्दछ । तसर्थ अब हामी राजनीतिक स्थिरताको बाटोमा हिड्न जरुरी छ । सभामुख महोदय, म नेपालको संविधानको धारा ७६ (५) बमोजिम नियुक्त प्रधानमन्त्री भएको हुँदा नेपालको संविधानको धारा ७६ को उपधारा (६) बमोजिम विश्वासको मत प्राप्त गर्न सम्मानित प्रतिनिधि सभामा प्रस्तुत भएको छु । सबै माननीय सदस्यहरुले मलाई विश्वासको मत दिनु हुनेछ भन्ने विश्वास गरेको छु ।

धन्यवाद !

Leave a Reply

Your email address will not be published. Required fields are marked *