कोरोना संक्रमितको संख्या बढ्दै गएका कारण परीक्षा सञ्चालन गर्न कठिनाइ उत्पन्न भएकोले राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामप्रसाद थपलियाका अनुसार शनिबार बसेको बोर्डको बैठकले आगामी साउन ३१ गतेदेखि भदौ ९ गतेसम्म हुन लागेको कक्षा १२ को परीक्षा स्थगित गरेको हो । बाँकी परीक्षा हुन पन्ध्र दिन अघि सूचना जारी गरेर जानकारी दिने निर्णयसमेत भएको छ ।
केही दिनअघि स्वाथ्य राज्यमन्त्री उमेश श्रेष्ठले कोरोना संक्रमण बढ्दै गए भौतिक रुपमा परीक्षा नगरी आन्तरिक मूल्याङकनबाट गर्न गर्न सकिने बताएका थिए । तर राष्ट्रिय परीक्षा बोर्डले परीक्षाको तयारी अन्तिम चरणमा पुगेको र परीक्षा हुने बताउँदै आएको थियो । परीक्षा आउन एक हप्ता बाँकी हुँदा स्वास्थ्य मन्त्रालयको सिफारिसमा सीसीएमसीले परीक्षाको नयाँ मिति तय गर्न अनुरोध गरेपछि बोर्डले पनि त्यही अनुसार तत्काललाई स्थगित गरेको छ ।