नेपालको सर्वाधिक लोकप्रिय कार्यक्रम भ्वाइस अफ नेपालको सिजन थ्रीको उपाधि किरण गजमेरले जितेका हुन् । हिमालय टेलिभिजनबाट प्रत्यक्ष प्रशारण भएको ग्राण्ड फिनालेमा टिम प्रमोदबाट गजमेरले सबैभन्दा धेरै भोट ल्याएर ‘द भ्वाइस’को उपाधि जितेका हुन् । गत साता भएको सेमिफाइनलबाट चार वटा टिमका एक–एक जना प्रतिभा ग्राण्ड फिनालेमा प्रवेश गरेका थिए ।
अन्तराष्ट्रिय फ्रेनचाइज शो ‘द भ्वाइस सिजन थ्री’ को बिजेता किरण गजमेरले २५ लाख रुपैयाँसहित वर्ल्ड टूरको पनि मौका पाएका छन् । त्यस्तै, ज्वाला राई, आर्यन तामाङ र तारा श्रीष मगर फ़ाईनालिस्टमा परेका छन् ।
कोच दीप श्रेष्ठ, प्रमोद खरेल, राजु लामा र तृष्णा गुरुङको टिमबाट एक–एक जना उत्कृष्ट प्रतिभा ग्रान्ड फिनालेमा पुगेका थिए । टिम दीपबाट दार्जलिङका आर्यन तामाङ, टिम प्रमोदबाट किरण गजमेर, टिम राजुबाट तारा श्रीष मगर र टिम तृष्णाबाट ज्वाला राईबीच प्रतिस्पर्धा भएको हो । उनीहरुले गरेको प्रस्तुति र दर्शकको भोटिङको आधारमा किरण गजमेर विजेता बनेका हुन् ।
टिम राजुबाट बाग्लुङकी तारा श्रीस मगर पहिलो पटक भ्वाइसको फाइनलमा पुग्ने पहिलो महिला प्रतियोगी हुन् । ताराले काठमाडौंका सोनाम शेर्पालाई भोटिङमा पछि पारेर फाइनल राउन्डको यात्रा तय गरेकी हुन् ।
यसअघि सिजन १ मा स्याङ्जाका सिडी विजय अधिकारी र सिजन २ मा झापाका राम लिम्बूले उपाधि जितेका थिए । दर्शकबाट अत्यधिक रुचाइएको द भ्वाइस अफ नेपाल हिमालय टेलिभिजन र द भ्वाइस अफ नेपालकै अफिसियल युट्यब च्यानलबाट प्रसारण भइरहेको छ।
किरण गजमेरलाई द ट्रु खबरको तर्फबाट धेरै धेरै बधाई तथा सुभकामना !!