चुनौती स्वीकार गरेर आएको छु, देश र जनतालाई निराश बनाउँदिनः कुलमान घिसिङ

Bythetruekhabar

२८ श्रावण २०७८, बिहीबार ०४:४६ २८ श्रावण २०७८, बिहीबार ०४:४६ २८ श्रावण २०७८, बिहीबार ०४:४६ #ghising, #kulman, #kulman ghising

नेपाल विद्युत प्राधिकरणको प्रबन्धक निर्देशक पदमा दोस्रोपटक नियुक्त कुलमान घिसिङले पदभार सम्हालेका छन् । ऊर्जा मन्त्रालयमा नियुक्तिपत्र बुझेर घिसिङले रत्नपार्क स्थित प्राधिकरण कार्यालय पुगेर पदभार सम्हालेका हुन ।

उनको अवकास पश्चात नियुक्त भएका प्रबन्धक निर्देशक हितेन्द्रदेव शाक्यलाई भने सरकारले जल तथा ऊर्जा आयोगमा विशिष्ठ श्रेणीको पद (सचिव) सरहको पूर्णकालीन सदस्य पदमा पदस्थापन गर्ने निर्णय गरेको छ । त्यसका लागि आयोगको गठन आदेशमा समेत संशोधन गरिएको छ । शाक्यले प्राधिकरणबाट मंगलवार नै बिदा लिइसकेका छन् ।

घिसिङले चुनौतीलाई स्वीकार गर्दै सरकारले दिएको जिम्मेवारीलाई पूर्ण रुपमा आत्मसाथ गरेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।अघिल्लो कार्यकालमा लोडसेडिङको अन्त्य, घाटाका गएको संस्थालाई नाफामा लगेर नयाँ अध्याय शुरु गरेको तथ्य पेश गर्दै घिसिङले भने, “यस पटक त्यतिबेलाको भन्दा ठूला र विशाल चुनौती छन् । त्यसलाई स्वीकार गरेर आएको छु । मेरो एक्लो प्रयासले मात्रै केही हुँदैन । हामी सबै मिलेर काम गरौँ । देश, जनता र राष्ट्रका अपेक्षा पूरा गर्न सकिन्छ ।

आफूले प्राधिकरण छाडेर गएपछि शुरु भएका सकारात्मक कामलाई अगाडि बढाउने र गलत काम भएका छन् भने त्यसलाई सुधार गरेर अगाडि बढ्ने उनले आफ्नो कार्ययोजना रहेको सुनाए। अघिल्लो पटक भन्दा यसपटक जनताको अपेक्षा बढेको, ऊर्जाको क्षेत्रमा धेरै नयाँ काम गर्नुपर्ने दायित्व थपिएको भन्दै कार्यकारी निर्देशक घिसिङले भने, “मेरो व्यक्तिगत जीवनकै लागि यो सबैभन्दा ठूलो चुनौती हो । नयाँ जोशका साथ काम गरौँ, काँधमा काँध मिलाएर अगाडि बढौँ, विगतका भन्दा ठूला सफलता पाउन सकिन्छ ।”

आम जनताको चाहना, प्राधिकरणको आवश्यकता र सरकारको योजनाका कारण आफूले प्राधिकरणमा दोस्रो पटक जिम्मेवारी पाएको भन्दै उनले यसकार्यमा सहयोग गर्ने सबैलाई धन्यवाद दिए । तत्कालीन नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)को गठबन्धन सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले २०७३ भदौ ३० गते घिसिङलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो । चार वर्षे कार्यकाल पूरा गरेर २०७७ भदौ २८ गते उहाँले अवकाश पाएका थिए ।

आम जनताले प्राधिकरणका पुनः घिसिङ आउनुपर्ने चर्को माग गरेपनि तत्कालीन केपी ओली नेतृत्वको सरकारले उनलाई जिम्मेवारी दिएन । मन्त्रिपरिषद्मा पुगेको पुनः नियुक्तिको प्रस्तावसमेत अस्वीकृत भएको तत्कालीन ऊर्जा मन्त्री वर्षमान पुनले सार्वजनिक रुपमा नै बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *