संखुवासभा सामुहिक हत्याकाण्ड : कसरी पुग्यो अभियुक्तसम्म प्रहरी?

Bythetruekhabar

२६ भाद्र २०७८, शनिबार ०७:४८ २६ भाद्र २०७८, शनिबार ०७:४८ २६ भाद्र २०७८, शनिबार ०७:४८

संखुवासभामा ६ जनाको विभत्स हत्या भएको पाँच दिनपछि प्रहरीले हत्या अभियोगमा एक जनालाई पक्रेको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी), सङ्घीय इकाई प्रहरी कार्यालय धरान, जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट खटिएको अनुसन्धान टोलीले पाँच दिनको अनुसन्धान पछि २६ वर्षीय लोकबहादुर कार्कीलाई नियन्त्रणमा लिएको हो । प्रहरीको दाबी अनुसार घटनामा प्रयोग भएको रगत लागेको हतियार र अभियुक्तले लगाएको कपडा समेत बरामद गरिएको छ ।

गत सोमवार मादी नगरपालिका १ उम्लिङ खोलागाउँमा ६ फरक फरक स्थानमा एकै परिवारका ६ जनाको शव भेटिएका थियो । दुई नाबालक सहित सबैको हत्या गरिएको थियो । प्रहरीले नियन्त्रणमा लिएका युवकले रिसइबीका कारण हत्या गरेको बयान दिएको प्रहरीको दावी छ । प्रहरीले नियन्त्रणमा लिएका युवक मृतक परिवारका १३ दिने नाता पर्ने एकै खलकका हुन् । हत्या गरिएका तेजबहादुरका नातामा उनी भतिजा पर्छन् । घरभित्र, बाटोमा, बारी र खोल्सामा गरी सोमवार विभिन्न ४ ठाउँमा ६ वटा शव फेला परेको थियो । ८४ वर्षीय पार्वती कार्की, उनका छोरा ५२ वर्षीय छोरा तेजबहादुर कार्की, तेजबहादुरकी श्रीमती ५२ वर्षकै कमला कार्की, ३२ वर्षीय रञ्जना कार्की, ८ वर्षीय विपिन कार्की र पाँच वर्षकी गोमा कार्कीको हत्या भएको हो ।

हत्या भएका कार्की परिवारले आफूलाई हेप्दै आएको र मनमा त्यसको तुस रहिरहेकाले सोही दिन हत्या गरेको प्रहरीलाई उनले बयान दिएको प्रहरीको भनाइ छ । केही दिन अघि अभियुक्तले तेजबहादुर कार्कीकी बुहारीलाई रातिको समयमा फोन गरेका थिए । सो कुराको जानकारी रञ्जनाले आफ्ना ससुरालाई दिएकी थिइन्। त्यसपछि तेजबहादुरले लोकबहादुरलाई हप्काएका थिए। ‘मलाई हप्काउने उसका छोरा विदेशमा भएर पैसा कमायो भनेर हेप्ने गरेको थियो । त्यसैको रिस थियो, ‘लोकबहादुरको बयानलाई उद्धृत गर्दै एक प्रहरीले अधिकृतले बताएका छन् ।

‘हत्या भएपछि अनुसन्धानले शंका गर्ने आधार दिएपछि उसलाई सर्भिलेन्समा राखेका थियौं । थप प्रमाण पुगेपछि नियन्त्रणमा लिएका हौं,’ जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी प्रमुख डीएसपी लालध्वज सुवेदीले भने । प्रहरीले लोकबहादुरमाथि अनुसन्धान गर्दै जाँदा शङ्कास्पद गतिविधि देखिएको थियो । उनले आफूले लास देखेको भन्दै कुनै व्यक्तिलाई जानकारी दिएका थिए । तर, उनले जुन ठाउँबाट शव देखेको भनेका थिए त्यस स्थानबाट सहजै लास देखिने अवस्था थिएन । त्यसपछि प्रहरीको आशङ्का थप बलियो बनेको थियो । ‘हामीलाई उसले जहाँबाट लास देखेको भने त्यहाँबाट हेर्दा लास देखिँदैन थियो । त्यसरी नै आशङ्काहरूलाई टेकेर अनुसन्धान गर्दै गयौं,’ एक प्रहरीले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *