कमेडी च्याम्पियन दोस्रो सिजनको उपाधि ताप्लेजुङका भरतमणि पौडेलले जितेका छन् । शनिबार राती भएको ग्राण्ड फिनालेमा विक्की अग्रवाल र सन्तोष थापालाई पछि पार्दै ताप्लेजुङका पौडेलले सबैभन्दा बढी भोट पाएर ‘कमेडी च्याम्पियन २’को उपाधि जितेका हुन् ।
उपाधि जितेसँगै भरतले २५ लाख र कार पुरस्कार पाएका छन् । यस्तै, सिक्किमका विक्की फस्ट रनर-अप बनेका छन् । प्रतियोगिताको उपविजेता बनेका उनले ‘टिभिएस अपाचे’ बाइक पाएका छन् । गोरखाका सन्तोष थापा भने तेस्रो स्थानमा चित्त बुझाए । उनले टिभिएस स्कुटर पुरस्कार पाएका छन् ।
उपाधि जितेका भरतमणि पूर्व सञ्चारमन्त्री गोकुल बास्कोटाको क्यारिकेचर गरेपछि दर्शकको ‘नोटिस’मा परेका थिए । त्यस्तै उनले सेमिफाइनलमा पूर्व युवराज पारस शाहको क्यारिकेचर गरेका थिए । जुन प्रस्तुतीबाट निकै तारिफ पाएका थिए । उनी ‘कमेडी च्याम्पियन’मा सात पटकसम्म ‘पर्फर्मर अफ द राउण्ड’ बनेका थिए ।