नोबेल विजेता मलाला युसुफजाईले यूकेको बर्मिङ्घममा आफ्ना प्रेमी असेर मलिकसँग एक ईश्लामिक समारोहकाबीच विवाह गरेकी छिन् । २४ वर्षीय मालाला र मलिकले निकाहमा सहभागी हुँदै विवाहका लागि सहमति जनाएका हुन् ।

मङ्गलवार उनले एउटा ट्विट गर्दै असेर र आफू जीवनभरका लागि दम्पती भएको र त्यस दिन आफ्नो जीवनकै ‘एउटा मूल्यवान् दिन’ भएको बताएकि छिन् । “अगाडिको यात्राका लागि एकसाथ अघि बढ्न हामी निकै उत्साहित छौँ।”, उनको ट्विटमा लेखिएको छ ।
क्रिकेटको प्रशंसकसमेत रहेकी मालालाका श्रीमान् असेर मलिक पाकिस्तान क्रिकेट बोर्ड पीसीबीको न्याश्नल हाई पर्फर्मेन्स सेन्टरका प्रबन्धक हुन् । उनले लाहोरको प्रतिष्ठित ऐचिङ्सन कलेज र लाहोर विश्वविद्यालयमा पढेका हुन् । पीसीबीसँग जोडिनुअघि उनी पाकिस्तान सुपर लीगको एक टोली मुल्तान सुल्तान्ससँग समेत जोडिएका थिए ।

मलाला १५ वर्षकी हुँदा पाकिस्तानमा तालिबानको हमलामा परेकी थिइन् जहाँ उनले किशोरीहरूको पढ्न पाउने अधिकारबारे बोलेकी थिइन् । सन् २०१२ मा तालिबानको गोली हमलामा परेपछि पाकिस्तानी महिला अधिकारवादी मलालाले इङ्ग्ल्याण्डको वेस मिडल्याण्ड्स क्षेत्रमा शरण पाएकी थिइन् । उत्तर-पश्चिमी स्वात उपत्यकामा लडाकुहरूले उनी चढेको स्कुल बसमा हमला गर्दा मलालासहित उनका अन्य दुई साथीहरू घाइते भएका थिए । झण्डै ज्यान गुमाएको उक्त घटनापछि उनी र उनको परिवार ब्रमिङ्घममा सर्यो जसलाई उनले पछि ‘आफ्नो दोस्रो घर’ भनिन् । १७ वर्षमा उनी नोबेल पुरस्कार पाउने सबैभन्दा काम उमेरकी व्यक्ति बनिन् । पछि उनी अध्ययनका लागि अक्सफर्ड विश्वविद्यालय गइन् र एकजना अग्रणी मानवअधिकारकर्मी बनिन् ।

