भैरहवाबाट ४ वायुसेवाले थाले अन्तर्राष्ट्रिय उडान

Bythetruekhabar

२५ कार्तिक २०८१, आईतवार १०:१२ २५ कार्तिक २०८१, आईतवार १०:१२ २५ कार्तिक २०८१, आईतवार १०:१२ #Bhairahawabat 4 Air Service Thale International Flight

भैरहवा : भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय व्यावसायिक उडानको सुरुवात भएको छ। विमानस्थल सञ्चालन भएपश्चात् वायुसेवा कम्पनीहरूले व्यावसायिक उडानको सुरुवात गरे पनि विभिन्न कारण देखाउँदै स्थगित गरेका थिए। तर, शुक्रबारदेखि यस विमानस्थलबाट पुनः व्यावसायिक अन्तर्राष्ट्रिय उडान सुरु भएको छ।

भैरहवा विमानस्थलबाट चारवटा नेपाल वायुसेवा निगमको नेपाल एयरलाइन्स, संयुक्त अरब इमिरेट्स (यूएई) को फ्लाई दुबई, कुवेतको जजिरा एयरवेज र थाइल्यान्डको वायुसेवा थाई एयर एसियाले नियमित उडानको सुरुवात गरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका सूचना अधिकारी विनोदसिंह राउतले जानकारी दिए।

यीमध्ये थाई एयर एसियाले शुक्रबारदेखि व्यावसायिक उडान थालेको छ भने अन्य तीनवटा शनिवारदेखि उडान थालेका हुन्। यसअघि पनि उडान गरेर स्थगित गरेको जजिराले पुनः उडानको सुरुवात गरेको हो। नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले चारवटा वायुसेवा कम्पनीमार्फत विमानस्थलबाट व्यावसायिक उडानको सुरुवात गरेर अन्य अन्तर्राष्ट्रिय कम्पनीहरूसँग पनि छलफल भइरहेको र सेवाप्रदानका लागि कतार एयरवेज, एयर अरेयिबा आन्तरिक छलफलमा रहेको बताए। भैरहवा, लुम्बिनीसहितका क्षेत्रको भविष्यसँग जोडिएको यस विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानको सुरुवातले पर्यटन क्षेत्रसहित सर्वसाधरणहरू हौसिएका छन्।

‘भैरहवाबाट अन्तर्राष्ट्रिय उडानको सुरुवात हुनु हामी सबैका लागि खुसीको विषय हो’, भैरहवाका पर्यटन व्यवसायी अमितकुमार गुप्ताले भने, ‘यसलाई निरन्तरता दिनुपर्छ र अन्य अन्तर्राष्ट्रिय कम्पनीहरूलाई पनि विमानस्थलमा ल्याउनुपर्छ।’

रोजगारीका लागि दुबई गएका कपिलवस्तु बनगाईका नारायणप्रसाद आचार्य दुबईबाट सीधा भैरहवामा ओर्लिन पाउँदा हर्षित थिए। ‘दुबईबाट घर आउन परे पहिला काठमाडौं झर्न पथ्र्याे फेरि त्यहाँबाट घर जानपथ्र्यो’ विमानस्थलमा भेटिएका उनी भन्छन्, ‘अहिले दुबईबाट सिधै भैरहवा ओर्लिन पाउँदा धेरै खुसी छु। यसले निरन्तरा पाओस्।’

त्यस्तै बुटवल खैरनीका अग्नि चापागाईले पनि दुबईबाट सीधा भैरहवा ओर्लिन पाउँदा खुसी व्यक्त गरे। ‘विदेश जानका लागि काठमाडौं आउजाउ गर्न निकै समस्या भएको थियो’ उनले भने, ‘भैरहवा विमानस्थलले धेरै सहज बनायो। खुसी छु।’

सरकारले भैरहवा विमानस्थलबाट सेवा दिने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरूलाई हवाई टिकटमा लाग्ने गरेको प्रतियात्रु ३ हजार रुपैयाँ यात्रु सेवा शुल्क र एक हजार रुपैयाँ लाग्ने पर्यटन शुल्क पूर्ण छुट, ग्राउन्ड ह्यान्डिलङमा ७५ प्रतिशत छुट, ल्याडिङ, पार्किङ र नेभिगेसन शुल्कमा पूर्णछुट सुविधा दिएको छ। यसको अलावा काठमाडौं विमानस्थलभन्दा हवाई इन्धनमा पनि प्रतिकिलोलिटर एक सय अमेरिकी डलर छुट दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *