फिल्म निर्माणमा बढ्यो आकर्षण, अर्को वर्ष चर्किनेछ भिडन्त

Bythetruekhabar

३० मंसिर २०८१, आईतवार १०:३५ ३० मंसिर २०८१, आईतवार १०:३५ ३० मंसिर २०८१, आईतवार १०:३५ #filmyworld, #kollyhood

कोरोना महामारीअघि फिल्म निर्माण र रिलिज उल्लेख्य रुपमा हुन्थे । वर्षेनि रिलिजको संख्या मात्र एक सय हाराहारी पुग्थ्यो । तर, कोभिडपछि फिल्म निर्माण निकै घट्यो । जसले गर्दा दुई वर्ष त रिलिजको संख्या ५० पनि पुगेन । २०७८ मा १३ र २०७९ मा ४६ फिल्म रिलिज भएका थिए । गत वर्ष रिलिज संख्या ५३ पुगेको थियो । यस वर्ष पनि यही हाराहारीमा फिल्म रिलिज हुने देखिन्छ । तर, अर्को वर्ष फिल्म रिलिजको संख्या सय नाघ्ने निश्चित प्रायः छ । किनकि, यतिबेला फिल्म निर्माणमा ठूलो आकर्षण देखिएको छ । यस वर्ष जुन किसिमले एकपछि अर्को नेपाली फिल्मले व्यावसायिक सफलता हासिल गरिरहेका छन्, त्यसले गर्दा निर्माताहरुबीच फिल्मको घोषणा गर्न प्रतिस्पर्धा नै चलिरहेको छ । हरेक हप्ताजस्तो नयाँ फिल्म घोषणा भइरहेका छन् ।

दशैंयता मात्र दुई दर्जन बढी फिल्मको घोषणा भइसकेका छन् । तीमध्ये अधिकांशको छायांकन आगामी माघपछि गरिँदैछ । र, रिलिज अर्को वर्ष हुनेछन् । ‘महाभोज’, ‘हरिबहादुरको जुत्ता’, ‘ड्यानी डेन्जरस’, ‘सोल्टिनी’, ‘खलनायक २’, ‘परालको आगो’, ‘दशमी’, ‘डिएनए’, ‘फनफनी घुमेर’, ‘माग्ने राजा’, ‘पीआर’, ‘कल्ली’, ‘पहाड’, ‘मायाका रंगहरु’, ‘जन्ते बाख्रो’, ‘अज्ञात’, ‘मोहर’, ‘महाराजधिराज’ जस्ता फिल्म छायांकनमा निस्किने अन्तिम तयारीमा छन् । त्यस्तै, ‘मन विनाको धन ठूलो कि धन विनाको मन’, ‘सिलसिला २’, ‘सत्यवीर’, ‘बरिष्ठ बलराम’, ‘श्रीमान श्रीमती’, ‘कुस्ती’, ‘बडादशैं’ जस्ता फिल्म पनि यसै वर्ष निर्माण हुँदैछन् । रामबाबु गुरुङ, प्रदीप भट्टराई, अशोक शर्मा, विराज भट्ट, आर्यन सिग्देल, प्रियंका कार्की, ज्ञानेन्द्र देउजा, उपेन्द्र सुब्बा लगायत पनि अर्को वर्ष रिलिजको लक्ष्यसहित फिल्म बनाउने तयारीमा रहेको बुझिएको छ ।

यीबाहेक चैतसम्म थप एक दर्जन फिल्म घोषणा हुनसक्ने आँकलन गरिएको छ । र, ती सबै फिल्म निर्माण भएको खण्डमा रिलिज अर्को वर्ष हुनेछन् । त्यसमा हाल छायांकन भइरहेका र छायांकन सकिएका केही फिल्म पनि थपिने निश्चित छ । त्यो हुँदा अर्को वर्ष रिलिजको संख्या त बढ्ने छ नै, भिडन्त पनि ठूलै देखिन सक्छ । सम्भवतः सोलो रिलिज कुनै फिल्मले पाउने छैनन् । अर्को वर्ष दशैंमा सबैभन्दा ठूलो भिडन्त हुनसक्ने छनक देखिन्छ । अहिलेसम्म आधा दर्जन फिल्मले दशैंलाई प्रदर्शन मिति घोषणा गरिसकेका छन् । तर, नेपालमा चर्चाका लागि प्रदर्शन मिति घोषणा गर्ने र पछि लुसुक्क भाग्ने प्रवृत्ति छ । यसैले दशैंलाई घोषणा भएका सबै फिल्म रिलिज हुन्छन् भन्ने छैन । तथापि, आगामी दशैंमा नेपाली फिल्मबीच ठूलो भिडन्तको सम्भावना भने प्रवल छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *