नेपालको अन्तर्राष्ट्रिय व्यापारमा सुधार देखिएको छ।

करिब साढे दुई वर्षदेखि आयात र निर्यात व्यापार लगातार कम हुँदै गएकोमा पछिल्ला दुई महिनामा उल्लेखनीय बढेको भन्सार विभागको तथ्यांकले देखाएको छ।

मंसिर महिनामा पछिल्लो ३८ महिनायताकै उच्च निर्यात भएको छ। त्यस्तै पछिल्लो ३१ महिनाको अवधिमा दोस्रो पटक करिब डेढ खर्ब रूपैयाँ बराबरको आयात पुगेको छ।

महिनागत आयात व्यापारमा कात्तिक महिनामा १७ प्रतिशतको वृद्धिदर पुगेको थियो। मंसिर महिनामा पनि १३ प्रतिशतको वृद्धिदर छ।

भन्सार विभागकाअनुसार मंसिर महिनामा मात्रै करिब डेढ खर्ब (एक खर्ब ४८ अर्ब) रूपैयाँको वस्तु आयात भएको छ।

विगत ३१ महिनाको अवधिमा डेढ खर्बको व्यापार यसअघि एक पटक मात्रै भएको छ।

गत आर्थिक वर्षको जेठ महिनामा एक खर्ब ५० अर्ब रूपैयाँको वस्तु आयात भएको थियो। यो वर्ष कात्तिक महिनमा एक खर्ब ४८ अर्ब रूपैयाँको वस्तु आयात भएको छ।

विशेषगरी चाडपर्वको समयमा बढी सामान आयात हुने गरेकोमा यो वर्ष त्यस्ता समयमा पनि आयात कम देखिएको थियो।

चालु वर्षको साउन महिनामा एक खर्ब २८ अर्ब, भदौ महिनामा एक खर्ब ३४ अर्ब, असोज महिनामा एक २८ अर्ब रूपैयाँ र कात्तिक महिनामा एक खर्ब २३ अर्ब रूपैयाँको वस्तु आयात भएको थियो।

मंसिरमा भने कात्तिकको तुलनामा २५ अर्ब रूपैयाँभन्दा बढीको आयात व्यापार भएको छ।

विगतका वर्षहरूमा असोज कात्तिकमा बढी आयात हुने र मंसिरमा कम हुने गरेकोमा यो वर्ष भने मंसिरमा आयात उल्लेखनीय बढेको देखिएको छ।

महिनागत रूपमा (गत वर्षको मंसिरसँग तुलना गर्दा) १३ प्रतिशतले आयात बढेको छ। तर, समग्र पाँच महिनाको अवधिमा भने ३ प्रतिशतले आयात बढेको देखिएको छ।

वर्ष २०८० को साउन, भदौ, असोज, कात्तिक र मंसिर महिनामा गरी ६ खर्ब ४२ अर्ब रूपैयाँ बराबरको वस्तु आयात भएको थियो। यो वर्षका यिनै महिनामा भने ६ खर्ब ६१ अर्ब रूपैयाँभन्दा बढीको आयात भएको छ।

समग्रमा असोज महिनासम्म आयात व्यापार गत वर्षको भन्दा ४ प्रतिशतले कम थियो। कात्तिक र मंसिर दुई महिना नै बढेपछि तीन प्रतिशतको वृद्धिदर देखिएको हो।

मंसिर महिनामा करिब २१ अर्ब रूपैयाँ बराबरको वस्तु निर्यात भएको छ। २०७८ को असोज महिनामा २१ अर्ब एक करोड रूपैयाँ बराबरको वस्तु अन्तर्राष्ट्रिय बजारमा नेपालबाट निर्यात भएको थियो।

त्यसपछिका कुनै पनि महिनाहरूमा २० अर्ब ८० करोड रूपैयाँको पनि निर्यात पुगेको छैन। तर मंसिर महिनामा मात्रै २० अर्ब ९८ करोड रूपैयाँ बराबरको वस्तु निर्यात भएको छ।

असोज महिनासम्म ६ प्रतिशतले ऋणात्मक रहेको निर्यात वृद्धिदर मंसिर मसान्तसम्म आइपुग्दा १७ प्रतिशतको कायम भएको छ।

निर्यातमा सबैभन्दा ठूलो योगदान भने भटमासको तेलको छ। पाँच महिनाको अवधिमा आठ अर्ब ३६ करोड रूपैयाँ बराबरको भटमासको तेल निर्यात भएको छ।

जबकि गत वर्षको यसै समयमा ३६ करोड रूपैयाँको मात्रै यस्तो तेल निर्यात भएको थियो। नेपालले तेस्रो मुलकबाट कच्चा तेल लिएर यसलाई प्रशोधन गरी भारतमा निर्यात गर्ने गरेको छ।

आयाततर्फ भने सबैभन्दा धेरै डिजेल र पेट्रोलको आयात छ। तर गत वर्षको यस समयको तुलनामा डिजेल २१ प्रतिशतले र पेट्रोल सात प्रतिशतले कम आयात भएको छ।

विशेषगरी यी दुई पेट्रोलियम पदार्थको मूल्यमा आएको कमीको कारण आयात मूल्य घटेको देखिएको छ।

पाँच महिनाको अवधिमा ४२ अर्ब १७ करोड रूपैयाँको डिजेल र २६ अर्ब ४५ करोड रूपैयाँ बराबरको पेट्रोल आयात भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *