एमाले नेता भीम रावलले शुक्रबार सिंहदरबारस्थित संसद सचिवालयमा सभामुख अग्नि सापकोटालाई भेटेर प्रतिनिधिसभा सदस्य पदबाट दिएको राजीनामा फिर्ता लिएका छन् । आफ्नो निर्वाचन क्षेत्रका मतदाता, आमजनता र पार्टी सदस्यहरुको आग्रहअनुसार आफूले राजीनामा फिर्ता लिएको रावलले बताएका छन् ।
यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत दिने दिन रावलले प्रतिनिधिसभा सदस्यबाट राजीनामा दिएको घोषणा गरेका थिए । अछाम निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद रावलले राजनीतिक दलका शीर्ष नेतामा स्वेच्छाचारिता बढेको तथा घृणित राजनीतिक खेल खेलबाट आफूलाई अलग राख्नु श्रेयस्कर ठानेर राजीनामा दिएको बताएका थिए ।