नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आममाफी दिने पार्टी अध्यक्ष केपी शर्मा ओलीको घोषणालाई लिएर आफ्ना तर्कहरु राखेका छन् ।
शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा ‘हिजो महामहिम श्री ५ बडामहाराजधिराजबाट अभिव्यक्ति आयो, माधव नेपाल लगायतका माननीय सदस्यहरुमाथि जति पनि स्पष्टीकरण सोधिएका छन्, उनीहरुलाई आममाफी दिइन्छ । एम्नेस्टी इज ग्रान्टेड । हामी गदगद् भयौं !’ नेपालले भने । ‘स्पष्टीकरण सोध्नु गल्ती भयो, मैले हतार गरें । अब फिर्ता लिएको छु भनिदिएको भए हाइट घट्थ्यो ?’
‘बादशाहलाई घोडाबाट झारे पनि अहंकार कम भएन’ भन्दै उनले अघि भनेका छन्, ‘महाराजधिराज खुशी हुनु भएको छ । हामीलाई आममाफी मिलेछ । नाच्नु पर्ने भयो, खुशी हुनुपर्ने भयो । यही हो पद्धति ? यसलाई कम्युनिष्ट पद्धति भनिन्छ ?’ । नेताहरुले एकतामा असर पर्ने केही नबोल्न आग्रह गरेको र आफूले पनि ओली सुधिएलान् कि भनेर आफू जोगिएर बोल्ने गरेकोसमेत नेपालले बताएका छन् ।
बिहीबार मात्रै अध्यक्ष ओलीले पार्टीमा असन्तुष्ट रहेको समूहलाई ‘आममाफी’ दिने घोषणा गरेका थिए ।