विगतका बर्षहरुमा अष्ट्रेलियामा श्रम शोषणका घटनाहरु अघि आईरहेका छन् । दिनहुँ कामदारहरु श्रमशोषणको सिकार भईरहेको घटना बढ्दो छ । बिशेषगरी रेष्टुरेन्टहरु र क्लिनिङ्ग कन्ट्रयाक्टर्सहरुद्वारा धेरै श्रम शोषण हुने गरेको पाईएको छ ।
यस्ता घटनाहरूमा ठूला व्यापारिक सञ्जालहरूमात्र दोषी नभएर साना व्यवसायी पनि उत्तिकै जिम्मेवार रहेका छन् । अघिल्लो वर्षको सर्वेक्षणले समान पृष्ठभूमि भएका मानिसहरूद्वारा नै आप्रवासी कामदारमाथि शोषण भएको देखाएको छ । अस्ट्रेलियाको श्रम बजारमा लाखौ श्रमिकहरू अन्तर्राष्ट्रिय विद्यार्थी रहेका छन् । यसको धेरै ठूलो हिस्साले निकै कम पारिश्रमिक पाउने गरेका छन् । काम गरे पनि सरकारले तोके बराबरको भुक्तानी गर्न सम्बन्धित निकायहरुले आनाकानी गरिरहेका छन् । कामदारहरुले न्यूनतम ज्यालाभन्दा कम ज्यालामा काम गरिरहेका हुन्छन् । प्रतिघण्टा पन्ध्र डलर, बाह्र डलर र दश डलर मात्रै ज्यालास्वरुप कामदार एवम् बिध्यार्थीहरुलाई दिने गरेको पाईएको छ ।
यस्तै, नेपाली विद्यार्थीहरूले पनि थुप्रै स्थानमा कामदारले शोषण गरेको र आवश्यक जानकारी नहुँदा उजुरी गर्न नसकेका कैयौं घटनाहरू सामाजिक सञ्जालमा समेत प्रकट गरेका छन् । बाईस डलर न्यूनतम ज्याला तोकिएतापनी उनीहरुले चौध, पन्ध्र डलर मात्रै पाउने गरेका छन् । यधपी विविध कानुनी चपेडाले आउने परिस्थितिहरुमा फसिने डरले सबै चुपचाप रहन बाध्य छन् ।
श्रमशोषणको बिषयलाई विस्तृत रूपमा हेर्ने हो भने रेष्टुरेन्ट र क्लिनिङ्ग कन्ट्रयाक्टर्सहरुको नाम नै पहिलो नम्बरमा आउने गर्दछ । नयाँ कामदार अर्थात भर्खर-भर्खरै काम सुरु गरेका बिध्यार्थीहरुलाई धेरै शोषण हुने गरेको अनुसन्धानले देखाएको छ । अष्ट्रेलियन फेयर ट्रेडले श्रम शोषणका बिरुद्ध कडाई गरेतापनी यस्ता घटनाहरु पनि अझै हुने गरेको पाईएको छ ।
त्यस्तै, बिगतका दिनहरुमा बिध्यार्थीको हितमा काम गर्ने संस्था/ कन्सल्टेन्सिहरुले नै बिध्यार्थीहरुको शोषण गरिरहेको पाईन्छ । प्राय : सबै संस्थाहरु यस कार्यमा संलग्न नभएतापनि थुप्रै नाम चलेका र सक्रिय कन्सल्टेन्सिहरुमा अझै शोषण हुने गरेको भूतपूर्व पिडीत कर्मचारीहरुले बताएका छन् । गोपनियताका लागि उक्त श्रमशोषण हुने कन्सल्टेन्सि र त्यहाका भूतपूर्व कर्मचारीहरुको पहिचान उल्लेख गरिएको छैन ।
अष्ट्रेलियाका थुप्रै व्यवसायहरूमा कामदारहरूमाथि शोषण हुने गरेको सञ्चार माध्यमबाट खुलासा भएपछि रोजगारदाताले जानीजानी आफ्नो कामदारलाई कम पारिश्रमिक दिए जेल जानुपर्ने व्यवस्थासमेत लागु गरिएको थियो ।