बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खान लागूऔषध मुद्दामा पक्राउ परेका छन् । ड्रग्स पार्टीमा सग्लन रहेको भन्दै उनीसंगै थप २ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
स्रोतका अनुसार अरबाज मर्चेन्ट र मुनमुन धमेचा सहित आर्यनलाई २ अक्टोबरमा एक क्रूजबाट हिरासतमा लिइएको थियो । लामो सोधपुछ पछि सबैलाई पक्राउ गरी मेडिकल परिक्षणको लागी पठाइयो । क्रुज बाट कुल आठ जनालाई हिरासतमा लिईएको थियो, जस मध्ये ३ जनाको नाम सार्वजनिक गरिएको छ । ‘आज तक’को समाचार अनुसार एनसीबीले सोधपुछको क्रममा एक लागुऔषध कारोबारीको बारेमा पनि थाहा पाएको छ । उनलाई पनि छिट्टै पक्राउ गरिने बताईएको छ ।
भारतको नार्कोटिक्स कन्ट्रोल ब्युरो (एनसीबी) ले अक्टोबर २ अर्थात शनिवार मुम्बईबाट गोवा जाँदै गरेको क्रुजमा एक ड्रग्स पार्टीमा छापा मारेको थियो l कार्डेलिया क्रुज एक्प्रेस शिप नामक एक क्रुजमा ड्रग तस्करी राजेहेको सुचनाका आधारमा एनसीबी टोली एक यात्रीको रूपमा क्रूजमा पुगेका थिए । त्यसबेला छापा मार्ने क्रममा व्यापार, मनोरन्जनसंग सम्बन्धित धेरै सेलिब्रेटीहरु पार्टिमा उपस्थित थिए । त्यहाँबाट आर्यन सहित अन्य ८ जनालाई हिरासतमा लिइएको हो ।
एनसीबीले क्रुज भित्र पार्टी चलिरहेको एक भिडियो फेला पारेको छ, जसमा आर्यन पनि देखिएका छन् । सोधपुछको क्रममा आर्यनले आफूलाई यस पार्टीमा पाहुनाको रुपमा आमन्त्रित गरिएको र उनले पार्टीमा सामेल हुन कुनै पैसा तिर्नु नपरेको बताएका छन् । पार्टीका आयोजकहरूले उनको नाम प्रयोग गरी पार्टीमा मानिसहरुलाई आमन्त्रित गरेका समेत आर्यनको दाबि छ । भारतीय सञ्चारमाध्यमका अनुसार एनसीबीले आर्यनको मोबाइल फोन पनि जफत गरेको छ र उनको च्याट खोजी गरिरहेको छ।