नेपालगञ्जबाट सुर्खेत हुँदै मुगुका लागि हिँडेको भे१ख ३१६७ नम्बरको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ३२ पुगेको छ । मृत्यु हुनेमा २२ पुरुष र १० महिला छन् । मुगुको छायानाथ रारा नगरपालिका वडा नम्बर ७ पिनाटप्ले खोलामा नेपालगन्जबाट गमगढी जाँदै गरेको बस मंगलबार दिउँसो पौने २ बजेतिर दुर्घटनामा परेको हो ।
जिल्ला प्रहरी कार्यालयको पछिल्लो तथ्यांकअनुसार २४ जनाको घटनास्थलमै मृत्यु भएको छ भने ४ जनाको उद्दार गरी ताल्चा विमानस्थल पु-याउने क्रममा र ४ जनाको उपचारका लागि नेपालगञ्ज पु-याएपछि मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएकाे छ । दुर्घटनामा गम्भीर घाइते भएका ४ जना उपचारका क्रममा बाँकेको नेपालगञ्जमा मृत्यु भएपछि मृतकको संख्या ३२ पुगेको हो । हाल १३ जना उपचाररत छन् । ३ जना हाम फालेको र २ जना दुर्घटना हुनुभन्दा केही समयअघि गाडीबाट ओर्लिएको प्रहरीको भनाइ छ ।
बस सडकबाट अन्दाजी ३०० मिटर तल खसेको थियो । नेपालगञ्जबाट सोमबार छुटेको उक्त बसमा ४५ यात्रु चढेका थिए । घाइतेलाई सुर्खेत बेस क्याम्पमा रहेको नेपालीको सेनाको हेलिकोप्टर र समिट एयरमार्फत नेपालगञ्ज पु-याइएको थियो । मृतक मुगुको गमगढी, छायानाथ रारा नगरपालिका क्षेत्रकै बढी रहेको प्रहरीले जनाएको छ ।