प्रदेश २ सरकारले गत आर्थिक बर्षमा ल्याएको कृषि कर्जाको ब्याज मिनाह कार्यक्रममा आवेदन गरेर बसेका करिब ८ हजार किसानले अझै रकम पाएका छैनन् । कोरोना संक्रमण नियन्त्रणका लागि सरकारले गरेकोे लकडाउनबाट प्रभावित किसानलाई राहत दिन प्रदेश सरकारले अघिल्लो बर्ष ब्याज अनुदान कार्यक्रम ल्याएको थियो ।
कृषि ज्ञान केन्द्र बारा प्रमुख जीतेन्द्र यादवका अनुसार ब्याज अनुदानका लागि बारामा १७ हजार तीनसयबढी आवेदन परेका थिए । सिमित बजेटका करण गत असार मसान्तमा ३ लाखरुपैंया मुनीकर्जा भएका ९ हजार ३४८ जना किसानलाई मात्रै २ करोड ८४ लाख रुपैया रकम वितरण गरिएको थियो । ३० वटा बैंक र ४१ वटा सहकारी मार्फत बारामा रकम वितरण भयो ।
सहकारी संस्थाका तीन लाखमाथीको कर्जा र एकदर्जन लघुवित्त संस्थाका गरी ८ हजार सदस्यलाई वितरण गर्न करिब ६ करोड रकम पुगेको थिएन । उक्त रकम यसबर्ष वितरण गर्ने बताईएको थियो । भुक्तानी गर्न बाँकी रकमका विषयमा पटकपटक कुरा भएपनि अहिले सम्म कुनै किसिमको जानकारी नआएको ज्ञान केन्द्र प्रमुख यादवले जानकारी दिनुभयो ।
०७७ साल असार २३ गतेका दिन प्रदेश २ का भुमिब्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साहले अपुग भएको रकम आगामी बर्ष वितरण गर्ने भनि प्रतिवद्धता जनाएका थिए । कृषि ज्ञान केन्द्र बाराको सभाकक्षमा आयोजित ब्याज राहत रकम वितरण गर्ने कार्यक्रमलाई सम्बोधन गर्दै उनले बाँकी रहेको करिब ६ करोड रकम आर्थिक बर्ष २०७७।०७८को सुरुमै वितरण गरिने बताएका थिए ।
तर आर्थिक बर्ष सकिनै लाग्दा समेत सोको कुनै जानकारी नआएपछि निवेदन दर्ता गराएका किसान भने निरास बनेका छन् । सार्वजनिक कार्यक्रम मन्त्रीले गरेको प्रतिवद्धता एकबर्ष हुन लाग्द समेत कार्यान्यन नगरिनु दुःखद् भएको साना किसान कृषि संघ लिमिटेड बाराका अध्यक्ष मिश्रीलाल सहनीले बताए ।
संस्थाहरु मार्फत आवेदन गरेका किसानहरुले आफ्ना सहकारीमा ब्याज अनुदान रकमबारे सोधिरहने गरेका छन् । प्रदेश २ सरकारले बैंक, वित्तिय संस्था एवं सहकारीबाट लिएको कृषि कर्जाको १२ प्रतिशत सम्मको दरमा ४ महिनाको ब्याज अनुदान दिएको थियो । बाँकी रकम वितरण गर्ने विषयमा प्रदेश सरकार गम्भीर नपाईएको बारा बचत संघका अध्यक्ष सतेन्द्र ठाकुरले बताए ।
प्रदेशका ८ जिल्ला मध्य यो समस्या बारामा मात्रै भएको हो । यस विषयमा प्रदेश सरकारसँग कुरा राख्ने उनले बताए ।