पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनलाई उपाध्यक्ष बनाउँदै माओवादी

Bythetruekhabar

२० मंसिर २०८१, बिहीबार १४:१६ २० मंसिर २०८१, बिहीबार १४:१६ २० मंसिर २०८१, बिहीबार १४:१६ #Maoists making former Vice President Nand Bahadur Punlai Vice President

नेकपा (माओवादी केन्द्र) ले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन (पासाङ) लाई उपाध्यक्ष बनाउने तयारी गरेको छ।

फेरि सक्रिय राजनीतिमा फर्कन लागेका पासाङ पछिल्लो समय माओवादी पदाधिकारी बैठकहरूमा सहभागी रहँदै आएका छन्।

माओवादी पदाधिकारीले पासाङलाई उपाध्यक्ष बनाउने निर्णय गरेसँगै उनी पदाधिकारी बैठकहरूमा आमन्त्रित सदस्यका रूपमा उपस्थित रहँदै आएका हुन्।

बिहीबार खुमलटारमा बसेको पदाधिकारी बैठकमा पनि उनी सहभागी थिए।

‘पदाधिकारी बैठकले उहाँलाई उपाध्यक्ष बनाउने निर्णय गरिसकेको छ,’ माओवादीका एक पदाधिकारीले सेतोपाटीसँग भने, ‘उहाँलाई पदाधिकारीमा फर्काउनका लागि नै विधान संशोधन मस्यौदासमेत तयार पारिसकिएको छ।’

यसअघि पदाधिकारी बैठकले विधान संशोधन गर्न वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको संयोजकत्वमा महासचिव देवप्रसाद गुरूङ तथा उपमहासचिवहरू वर्षमान पुन र जनार्दन शर्मा सदस्य रहेको कार्यदल बनाएको थियो।

उक्त कार्यदलले पार्टी पदाधिकारीको संख्या बढाउने गरी विधान संसोधनको मस्यौदा तयार पारेको थियो।

उक्त मस्यौदालाई आउँदो पुस २ गते बस्ने केन्द्रीय समितिबाट पारित गर्ने तयारीमा माओवादी छ।

साथै सोही केन्द्रीय समिति बैठकले पूर्वउपराष्ट्रपति पासाङलाई माओवादी उपाध्यक्षमा मनोनीत गर्ने अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निकट स्रोतले सेतोपाटीलाई जानकारी दिएको छ।

माओवादी केन्द्रमा अहिले एक वरिष्ठ उपाध्यक्ष, ३ उपाध्यक्ष, १ महासचिव, ६ उपमहाचिव, ९ सचिव र एक जना कोषाध्यक्ष छन्।

‘माओवादी आन्दोलनलाई फेरि पुनर्ताजगी गर्न म पार्टीमा फर्किएर काम गर्न तयार छु,’ बिहीबारको पदाधिकारी बैठकमा पूर्वउपराष्ट्रपति पासाङले भनेका कुरा उद्धृत गर्दै एक पदाधिकारीले भने।

स्रोतका अनुसार लुम्बिनी प्रदेशका पूर्वप्रमुख रहेका अमिक शेरचनलाई पनि पार्टीको जिम्मेवारीमा फर्काउनेबारे कुराकानी चलेको छ। शेरचनलाई उपाध्यक्ष बनाउनेबारे कुराकानी भए पनि सहमति जुटिसकेको छैन।

‘पासाङजीको विषयमा सबै एक मत भए पनि अमिकजीलाई कुन भूमिकामा ल्याउने भन्ने बारेमा टुंगो लागिसकेको छैन,’ ती पदाधिकारीले भने।

माओवादीका पूर्व कोषाध्यक्ष शेरचन वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठसँगै एकता प्रक्रियामा माओवादीमा आबद्ध भएका थिए।

साथै पासाङ भने विद्या भण्डारी राष्ट्रपति रहेका बेला दुई कार्यकाल उपराष्ट्रपति बनेका थिए।

उपराष्ट्रपतिको जिम्मेवारीबाट बाहिरिएसँगै उनलाई पार्टीको जिम्मेवारीमा ल्याउन अध्यक्ष प्रचण्डले कसरत गरिरहेका थिए।

माओवादी केन्द्रमा अध्यक्ष प्रचण्डनिकट मानिने पासाङको पुनरागमनले पार्टीभित्रको आन्तरिक राजनीतिमा अर्थ राख्छ।

यसअघि माओवादीले पूर्वसभामुख अग्निप्रसाद सापकोटालाई पार्टीमा जिम्मेवारी दिइसकेको छ। सापकोटा उपाध्यक्ष र प्रवक्ताको जिम्मेवारीमा छन्।

सापकोटा २०७६ माघ १२ गतेदेखि २०७९ असोज २२ गतेसम्म सभामुख रहेका थिए। सभामुखको कार्यकाल सकिएको चार महिनापछि माओवादीले सापकोटालाई पार्टी उपाध्यक्षको जिम्मेवारी दिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *