सर्वाेच्च अदालतले फेरि प्रतिनिधि सभा पुनर्स्थापना गरिदिएको छ । सर्वाेच्च अदालतको संवैधानिक इजलासले प्रतिनिधि पुनर्स्थापनाको आदेश दिएको हो । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वमा न्यायाधीशहरु दीपकुमार कार्की, मीरा खड्का, ईश्वरीप्रसाद खतिवडा र आनन्द मोहन भट्टराई सम्मिलित संवैधानिक इजलासले सोमबार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत जेठ ८ गते प्रतिनिधि सभा विघटन गर्ने निर्णयलाई बदर गरिदिएको हो ।
संवैधानिक इजलासले राष्ट्रपतिको सो निर्णयलाई बदर गरेसँगै प्रतिनिधिसभा पुनर्स्थापित भएको छ । सर्वोच्चको आदेशअनुसार २०७८ साउन ३ गते आइतबार अपराह्न ५ बजेभित्र प्रारम्भ हुनेगरी संसद्को अधिवेशन बाेलाउनु पर्ने भएकाे छ । प्रतिनिधि सभा विघटनविरुद्ध र संविधानको धारा ७६(५)अनुसार प्रधानमन्त्रीमा कांग्रेस सभापति शेरबहादुर देउवाको दाबीलाई सदर गर्न माग गर्दै सर्वाेच्च अदालतमा देउवासँगै १४६ सांसदलगायतले रिट दर्ता गराएका थिए । उक्त रिटमाथि सुनुवाइ गर्दै सो आदेश दिएको हो ।