सर्वाेच्च अदालतले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेको छ । प्रतिनिधि सभा विघटनविरुद्ध र संविधानको धारा ७६(५)अनुसार प्रधानमन्त्रीमा कांग्रेस सभापति शेरबहादुर देउवाको दाबीलाई सदर गर्न माग गर्दै सर्वाेच्च अदालतमा देउवासँगै १४६ सांसदलगायतले रिट दर्ता गराएका थिए ।
उक्त रिटमाथि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासहित न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको इजलासमा सुनुवाइ भएको थियो । सुनुवाइपछि सोमबार संवैधानिक इजलासले देउवालाई दुई दिनभित्र प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश दिएको हो । प्रतिनिधि सभा पुनर्स्थापित गर्न र देउवालाई प्रधानमन्त्री बनाउन एकमतले निर्णय भएको प्रधानन्यायाधीश जबराले आदेश सुनाउने क्रममा भनेका छन् ।